भवन विक्रि गर्ने निर्णय प्रति यतीद्वारा निन्दा
लण्डन, १७ डिसेम्वर / लण्डन स्थित नेपाली राजदुतावास भवन विक्रि गर्ने सरकारको निर्णयप्रति यती नेपाली एशोसियसन युकेले आपत्ति जनाएको छ ।
यती नेपाली एशोसियसन युकेका अध्यक्ष चिरन्जिवी ढकालद्वारा जारी विज्ञप्तीमा बेलायतस्थित नेपाली राजदुतावास भवन विक्रि हुने भन्ने समाचारले यती नेपाली एशोसियसन बेलायतलाई स्तब्ध बनाएको उल्लेख छ ।
नेपालको सबैभन्दा पुरानो कुटनैतिक इतिहास बोकेको र लण्डनको केन्सिङटन प्यालेस गार्डेन जस्तो महत्वपूर्ण एवं गरिमामय ठाउँमा अवस्थित कलात्मक भवन सम्पूर्ण नेपालीहरुको लागि गर्वको कुरा हो विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकारबाट दुताबास विक्रि सम्वन्धमा भएको निर्णय समस्त बेलायतबासी नेपालीको भावना विपरित भएको ठहर गर्दै सो निर्णयको यती नेपाली एशोसिएसन बेलायतले घोर निन्दा गरेको हो । भवन विक्रि गर्ने निर्णय तत्काल फिर्ता लिई जनभावनालाई कदर गर्न नेपाल सरकार समक्ष यतीले जोडदार माग राखेको छ ।
एशोसियसनले राजदुतावासलाई सुचारु रुपमा सञ्चालन गर्नको लागि आवश्यक पर्ने मर्मत खर्च जुटाउन सक्दो सहयोग गर्न आफूहरु तयार रहेको बताउँदै बेलायतस्थित अन्य नेपाली संघ संस्थाहरुलाई समेत सहयोगको लागि तयार रहन आव्हान गरेको छ ।