अनाथका लागि च्यारिटी कार्यक्रम

लण्डन । नेपालका अनाथ बालबालिकाका लागि वाटफोर्डस्थित ग्रामरस्कुल फर गर्ल्समा एक भव्य च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

शिव च्यारिटी तथा नेपाल अर्फेन्स होमद्वारा शुक्रबार आयोजित उक्त कार्यक्रममा बेलायतमा बसोबास गरेका विभिन्न नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रम आयोजक श्रीमती करेन विलिग्स नेपालमा विगत चार बर्षदेखि अनाथ बालबालिकाहरुको सहयोगार्थ काम गरिरहनु भएको छ ।

श्रीमती विलिंग्सले आफू नेपालमा दुइ पटक भ्रमण गरिसकेको र तीन बर्ष पहिले त्यहाँका जनतासंग असल सम्वन्ध स्थापित भएको बताउँनु हुँदै पछिल्लो भ्रमणमा आफ्नी छोरीलाई समेत नेपालमा लगेका समयमा अनाथालयमा बसेको अनुभव सुनाउनु भयो ।

उहाँले आफ्ना मनपरेका अभिनेता जेरेमी आईरनले कार्यक्रममा अतिथि बक्ता बन्न सहमत हुनु भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोशेली सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने सितार र ढोल वाधकहरुले पूर्वीय संगीतको अनुपम नमुना प्रस्तुत गरेका थिए । कार्यक्रमका बक्ता जेरेमीले नेपालको भ्रमणका साथै सहयोगका बारेमा विचार राख्नु भयो ।