बीजीडब्लुएसको साधारण सभा सम्पन्न

फार्नबरो, १६ डिसेम्वर । बृटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानको अध्यक्षतामा फार्नबरोका दुइ ठाउँमा बीजीडब्लुएसका छुट्टाछुट्टै कार्यक्रमहरु सम्पन्न भएका छन् ।

आईतबार गोर्खा भवन फार्नबरोमा बीजीडब्लुएसको कार्यकारिणी समितिको बैठक सम्पन्न भएको थियो भने सोही दिन दिउँसो ओक फार्म कम्युनिटी स्कुलमा उक्त संस्थाको साधारण सभा सम्पन्न भयो ।

साधारण सभामा बोल्दै बीजीडब्लुएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानले बीजीडब्लुएसको कडा मेहनत, प्रयास र बृटिस जनताको सहयोग स्वरुप गोर्खाले बृटेनमा बस्ने अधिकार प्राप्त गरेको बताउनु भयो । केही बर्ष अगाडि रक्षा मन्त्रालयले त्रिपक्षीय सन्धिको कारण देखाई छलकपट गर्न खोजेको बताउँदै गोर्खालाई बेलायतमा बस्ने अधिकारको घोषणा भएपछि पनि १९९७ अगाडि र पछाडिको कुराले धेरै ठाउँमा तगारो लगाएको स्पष्ट पार्नु भयो ।

समान अधिकार, समान तलव र समान पेन्सनका सम्वन्धमा गोर्खा अफर टु ट्रान्सफर निकालेको र ठाउँ ठाउँमा रोड शो गर्ने कार्य भैरहेको साधारण सभामा बताइएको थियो । सन् २००३ को न्यायिक पुनरावलोकनका कारण १ जुलाई १९९७ भन्दा पहिले पेन्सन निस्केका गोर्खाहरुलाई यो मौकाबाट बन्देज लगाइएको रक्षा मन्त्रालयको भनाईलाई समेत साधारण सभामा छलफल गरिएको थियो ।

गत ५ डिसेम्वरमा अल्डरशोटमा भएको जीओटीटी ब्रिफिङ्गमा अध्यक्ष देवानले ब्रिफिङ्ग टीमसंग गोर्खालाई १९९७ भन्दा पहिले ओभरसिज बेस फर्मेशन अथवा ओभरसिज फोर्स भनेर त्रिपक्षीय सन्धीको कुन दफामा गरियो - जस्ता प्रश्न गर्नु भएको थियो । उक्त टीमले इण्डियन छैठौ पे कमिशन रिभ्युको आधारमा गरिएको भनेतापनि एमओडीसंग त्यस्तो कुनै स्पष्ट डकुमेण्टस् नभएको उनीहरुले स्वीकार गरेका थिए ।

भुतपूर्व गोर्खाहरुले पेन्सनको मुद्दा हार्दा नेपालको आर्थिकस्तर अनुसार गोर्खा पेन्सन ठिक छ भनि प्रमाणित गर्ने एमओडी अहिले फेरि प्रसंग बदलेर तिमीहरु फार इष्टको फोर्स हो भनि आलटाल गर्न थालेको मेजर देवानले बताउनुभयो ।

"जो गोर्खा ९७ अगाडिका छन् उनीहरु यसमा समावेश नै छैनन्" अध्यक्ष देवानले भन्नुभयो "त्यो बृटिस सरकारको हाम्रो वफादार नोकरी प्रतिको बेवास्ता हो र सन् १९९७ पछिको पनि र्सर्भिस अनुसारको पेन्सन हुनेवाला छैन ।" १९९७ पछिको र्सर्भिस बर्ष बर्षको लिने र १९९७ भन्दा अगाडिको नोकरीलाई भने विभिन्न र्यांक अनुसार प्रतिशतमा बदलेर दिने बनाइएको बताउँदै उहाँले यो सरासर एमओडीको बर्ठाई चाला हो भन्नुभयो ।

साधारण सभामा जीओटीटी इलेक्सन र्फमको बारेमा विस्तृत छलफल भयो । निश्कर्षमा बीजीडब्लुएसले र्फममा केही कानूनी कुरा थपेर मात्र हस्ताक्षर गर्ने निर्णय गरेको छ । बीजीडब्लुएसले उपलव्ध गराउने सो र्फम न्युट्रल टोलीलाई पनि खुला राखिने र त्यसको संयोजन मेजर रिटायर्ड कुलबहादुर थापाले गर्नु हुनेछ ।

कार्यक्रमकै क्रममा मेजर देवानले अझै नेपालमा २९३ जना बीजीडब्लुएस सदस्यहरु धैर्यका साथ आइर्एलईको लागि पर्खि रहनु भएको बताउनु भयो । "उहाँहरु सबैको आवेदन अस्वीकृत भएर अपिल कोर्टमा छन्" अध्यक्ष देवानले भन्नुभयो "एकजना सदस्यको मात्र २ पटक सम्म अपिल सुनुवाई भैसक्यो तर अझ सम्म होम अफिसले फैसला गर्न सकेको छैन ।"

उहाँहरु सबैको आवेदन २४ अक्टुबर ०६ भन्दा पहिले नै पेश भैसकेको र त्यसबेला ३ बर्ष बेलायतमा बसेको हुनु पर्छ भन्ने नियम लागु भैनसकेको बताउँदै उहाँले भन्नुभयो "यसका आधारहरु राम्रा भएका कारण सकारात्मक नतिजाको आशामा छौं ।"

बीजीडब्लुएस कार्यालय काठमाण्डौद्वारा ११४९ जना ९७ भन्दा अगाडिका गोर्खाको मात्रै आईर्एलई दिलाउन सफल भएको बताउँदै त्यसमध्ये २९३ जना भुतपूर्व गोर्खा, २६२ जना गोर्खाका श्रीमतीहरु, ७ जना विधवा, ३१६ जना १८ बर्ष माथिका बालबालिका र ३२४ जना १८ बर्ष मुनिका बालबालिका रहेको तथ्यांक पेश गरिएको थियो ।

बीजीडब्लुएसले हालसम्म ९७ भन्दा पछाडिको तुलनामा अगाडिका गोर्खाहरुलाई नै बढी मद्दत पुर्याएको मेजर देवानले ठोकुवा गर्नुभयो । "यदि बीजीडब्लुएसले मद्दत नपुर्याएको भए आज प्रि ९७ वालाहरु बेलायतमा आईएलआर, आईएलई लिएर बस्ने विरलै हुन्थे" अध्यक्ष मेजर देवानले भन्नुभयो "यद्यपी पोष्ट ९७ को हरेक मोडमा बीजीडब्लुएसको मद्दत कायमै छ ।"

अध्यक्ष देवानले बेलायतमा हामी आफ्ना बालबालिकाहरुको सुनौलो उज्जवल भविष्यका लागि आयौ तर ब्यवहारमा त्यति देखिएको छैन भन्नुभयो । "बाबुआमाहरुले राम्रो हेरचाह गर्नुपर्यो, पैसा कमाउनु मात्र भविष्य होइन" उहाँले थप्नुभयो "समयमा नै नानीहरुलाई राम्रो गाइड दियौं भने मात्र हाम्रो सपना साकार हुन्छ ।" अध्यक्ष देवान स्वयं ओक फार्म कम्युनिटी स्कुलको गभर्नर बडीमा हुनुहुन्छ ।

गोर्खा पेन्सन बारे केन्द्रित भएको यस भेलामा ५ सय को हाराहारीमा सदस्यहरुको उपस्थिति थियो । संस्थाका महासचिव क्षेत्र र्राईले उपस्थित सबैलाई स्वागत गर्नु हुँदै धन्यवाद दिनु भयो भने कोषाध्यक्ष टेकबहादुर थापाले संस्थाको आयब्ययको लिखित र मौखिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा मेजर रिटायर्ड कुलबहादुर थापाले आगामी ६ जनवरीमा हुन गइरहेको बीजीडब्लुएसको चुनावका सम्वन्धमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो भने क्याप्टेन रिटायर्ड हितमान गुरुङ्ग (एमबीइ) ले गैर आवासीय नेपाली संघ बारे जानकारी गराउँदै र एनआरएन युके अति नै शिथिल भएको बारे दुःख प्रकट गर्नु भएको थियो । उहाँले आउँदो एनआरएन चुनावमा संस्थाले बलियो प्रतिनिधित्व गर्नु पर्ने विचार राख्नु भयो ।

यसैबीच बीजीडब्लुएसका सदस्य छविलाल थापाकी श्रीमतीको केही महिना अगाडि असामयिक निधन भएको प्रति दुःख ब्यक्त गर्दै बीजीडब्लुएसले सहयोग स्वरुप २ हजार पाउण्डको सदस्य छविलाल थापालाई कार्यक्रममा प्रदान गरेको थियो । छविलाल थापाले सहयोगको लागि संस्थालाई धन्यवाद दिनुभयो ।