तमुधी युकेद्वारा राजदुतलाई स्वागत
क्याम्वर्लि, ९ डिसेम्वर । बेलायतमा बसोबास गरिरहेका तमुहरुको संस्था तमुधी युकेले बेलायतका लागि नव नियुक्त नेपाली राजदुत मुरारीराज शर्मालाई एक भब्य कार्यक्रम गरी स्वागत गरेको छ ।
तमुधी युकेले आईतबार क्यावर्लि स्थित काठमाण्डौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा राजदुत शर्मालाई स्वागत गरेको हो ।
संस्थाका अध्यक्ष मेजर रिटायर्ड लालबहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले राजदुत शर्मालाई खादा ओढाएर स्वागत सम्मान गर्नु भएको थियो । उहाँले राजदुत शर्मालाई आफ्नो कार्यक्रममा स्वागत गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
नव नियुक्त राजदुत मुरारीराज शर्माले बेलायतमा बसोबास गर्ने तुमुहरुको कार्यक्रममा सहभागि हुन पाउदा आफूलाई खुसी लागेको बताउनु हुँदै बेलायतमा बसोबास गर्ने नेपालीहरुका लागि राजदुतावासको ढोका सधै खुला रहेको बताउनु भयो । उहाँले बेलायतमा बसोबास गरिरहेका नेपालीहरुलाई सकेसम्म सहयोग पुर्याउने र सबै नेपालीहरुले राजदुतावासलाई आफ्नै घर सम्झनु पर्ने बताउनु भयो ।
यसैगरी तमुधी युकेले सांसद केशव थापा, सेकेण्ड सेक्रेटरी गणेश अधिकारीलाई समेत कार्यक्रममा स्वागत गरेको थियो ।