भगवान चाम्लिङका म्युजिक भिडियोहरु प्रदर्शन

केण्ट, ८ डिसेम्वर । गीतकार, गायक तथा संगीतकार भगवान चाम्लिङको नयाँ गीति एल्वम 'सम्झे नजिक' को म्युजिक भिडियो शनीबार केण्टमा प्रदर्शन भयो ।

केण्ट लगायत बेलायतका विभिन्न क्षेत्रबाट आएका साहित्यिक श्रष्टाहरुको उपस्थितिमा अजम्बरी डट कमले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

युवा कवी नवराज र्राईको मुक्तक र कविताका हरफ मिश्रति मनछुने उद्घोषका साथ सञ्चालकले गायकको परिचय गराएका थिए । कार्यक्रममा गायक भगवान चाम्लिङले आफ्नो गायन र नेपाली संगीतको बारेमा आफ्ना विचार राख्नु भएको थियो ।

गायक चाम्लिङको उक्त गीति एल्वमका 'भाग्य कोर्ने हङ्गकङ्ग शहर', 'संझे नजिक', 'के पो लाग्यो' र 'पाखै भरी' लगायतका गीतहरुलाई भिजुअलाइज गरिएको छ ।

भिडियो हेरिसकेपछि विभिन्न बक्ताहरुले भिडियो र गीतको सम्वन्धमा आ-आफ्नो विचार राख्नु भएको थियो ।

काङमाङ नरेश, मिलन चाम्स, इश्वर चाम्लिङ लगायतका बक्ताहरुले गायक, गीतकार तथा संगीतकार भगवान चाम्लिङको कला र स्वरको प्रशंसा गर्दै नेपाली सांगीतिक आकाशमा भगवान चाम्लिङ एक चम्किला ताराको रुपमा उदाउनु भएको विचार ब्यक्त गर्नु भयो ।

जितेन्द्र चेम्जोङ, नबल र्राई, विश्वासदीप तिगेला, हरि र्राई, शान्ति र्राई, एनवी र्राई, श्रृष्टी र्राई, नगेन्द्र घले र भुमिराज र्राई लगायतका श्रष्टाहरुले उक्त भिडियोलाई नेपाली सांगीतिक क्षेत्रको एक अमूल्य रत्नको रुपमा चित्रण गर्नु भयो ।

कार्यक्रमको अन्तमा डोल्पा काइगाउँ गाविसको थापा गाउँमा विद्यालय निर्माणको सहयोगको लागि भ्रमणमा जाँदा खिचिएका डोल्पाका सुन्दर ठाउँहरुको दृष्य समेटेर तयार पारिएको छोटो बृत्तचित्र 'डोल्पा'को प्रदर्शन गरिएको थियो ।

सो सामाजिक कार्यको अगुवाई जितेन्द्र चेम्जोङ र नवराज र्राईले गरिरहनु भएको भुमिराज र्राईले बताउनु भयो । विद्यालय निर्माण कार्य ८० प्रतिशत पुरा भईसकेको र अरु केही रकम संकलन भएमा र गर्न सकिएमा विद्यालयको आधारभुत आवश्यकताहरु परिपूर्तिमा सो पैसा खर्च गरिने कुरा समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

दुइ लाख रुपैया यस अघि नै चन्दा संकलन गरी विद्यालय निर्माणको लागि खर्च जुर्टाईसकिएको कुरा नबराज र्राई र जितेन्द्र चेम्जोङले बताउनु भयो । बृत्तचित्रको सम्पादन र निर्देशन मिलन चाम्स, लेखन नबराज र्राई र छायांकन जितेन्द्र चेम्जोङले गर्नु भएको छ ।