नेपाली लोकतान्त्रिक मञ्चसंग कृषि मन्त्री
लण्डन । खाद्य तथा कृषि संगठनद्वारा इटलीमा आयोजित सम्मेलन सकेर बेलायत आउनु भएका कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माको आतिथ्यमा नेपाली लोकतान्त्रिक मञ्च, बेलायतले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चले उक्त कार्यक्रम अर्ल्पर्टनस्थित नर्थ वेष्ट कलेज लण्डनको हलमा सम्पन्न गरेको हो ।
मञ्चका अध्यक्ष आङ्ग कल्जङ्ग लामाले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले देशको बर्तमान समसामयिक राजनैतिक गतिविधि र प्रगतिका विषयमा आफ्ना विचार राख्नु भएको थियो ।
मन्त्री विश्वकर्माले संविधानसभाको चुनाव र्सदा प्रतिगामीहरुले चलखेल गर्ने मौका पाएको बताउनु हुँदै सातदलको एकताले महत्वाकांक्षि वादशाहलाई पराजित गर्न सफल भएको तर बादसाह अझै पराजित नभएको उल्लेख गर्नु भयो ।
जनआन्दोलनमा जनताले देखाएको आकांक्षा अनुरुप दलहरु चल्न नसक्दा जनमानसमा चिन्ता छाउनु स्वाभाविक भएको बताउँदै उहाँले भन्नुभयो "हामीले जेठमा चुनाव गर्न सकेनौ, मंसिरमा पनि सकेनौ यसबाट जनताको विश्वास हामीले गुमाउँदै त छैनौ भन्ने अहिले प्रश्न उब्जीएको छ ।"
उहाँले प्रवासी नेपालीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा देखाएको उत्साह प्रति खुसी ब्यक्त गर्दै राजनीतिमा दुरदर्शिता नअपनाउने र पछि पछुताउने प्रवृत्ति मुलुकमा देखापरेको प्रति टिप्पणी गर्नु भयो ।
संविधानसभाको निर्वाचनलाई राजतन्त्रको अन्त्य र नयाँ नेपाल निर्माणको दिशामा उपयोग गर्नुपर्ने उहाँको निश्कर्ष थियो ।
कार्यक्रममा कृषि सचिव बलराम प्रधानले गैर आवासीय नेपालीलाई कृषिमा समेत लगानी गर्न आग्रह गर्दै भन्नुभयो "कृषि नै देशको अर्थतन्त्रको मेरुदण्ड हो, यसमा गैर आवासीय नेपालीहरुको योगदान हुनुपर्छ ।"
अन्तरक्रिया कार्यक्रमका सभापति तथा नेपाली लोकतान्त्रिक मञ्च युकेका अध्यक्ष आङ्ग कल्जङ्ग लामाले संविधानसभाको चुनावको मिति छिटो तोक्न दलहरु समझदारीमा आउनु पर्ने विचार राख्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाको मन्त्री विश्वकर्माले जवाफ दिनु भएको थियो ।
नेपाली लोकतान्त्रिक मञ्च युकेका विभिन्न क्षेत्रीय समितिका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य रवीन्द्र कंडेलले अतिथिहरु, सहभागीहरु तथा हल उपलव्ध गराउने नर्थ वेष्ट कलेजलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने मञ्चका महासचिव सुरेन्द्र थपलियाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।