गेसोका मुद्दाको सुनुवाई डिसेम्बर ५ का दिन लण्डनमा

काठमाडौस्थित बेलायती दूतावासले आवासिय भिसा दिन इन्कार गरेपछि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को सक्रियता र लण्डनस्थित हृवो एन्ड को. सोलिसिर्टसको सहयोगमा दर्ता गरिएका सयौँ पुनरावेदनहरुमाथिको दोस्रो सुनुवाई यही डिसेम्बर ५ का दिन लण्डनमा सम्पन्न हुने भएको छ । सन् १९९७ भन्दा पहिले हंगकंगबाट अवकाश पाएका गोरखा तथा तिनका परिवारहरुलाई बेलायतले अपवादबाहेक आवासिय भिसा दिन इन्कार गर्दै आएको छ ।

यी मुद्दामा गेसो विजय भएमा अन्य हजारौं गोरखाहरुलाई बेलायतमा स्थायी बसोबासको अधिकार प्राप्त हुनेछ । बेलायतले गोरखाहरुमाथि पेन्सनका विषयमा गरिरहेको भेदभावका विरुद्धसमेत गेसोले विगत ७ वर्षदेखि विभिन्न कानुनी लडाइँ र जनअभियान सञ्चालन गर्दै आएको छ । हाल बेलायतले नेपाल तथा बेलायत जहाँ बसे पनि लज्जास्पद ढंगले भारतीय मापदण्डअनुसारको पेन्सन दिँदै आएको छ ।

लण्डनस्थित अध्यागमन अदालत (Asylum and Immigration Tribunal at Field House, 15 Breams Buildings, London, EC4A 1DZ) मा बिहानको १०:०० बजेदेखि शुरु हुने यस सुनुवाइमा अदालत परिसरबाहिर ठीक ९:३० बजे गेसोका संरक्षक तुलबहादुर पुन भिसी, सभापति पदमबहादुर गुरुंग, कानुनी सल्लाहकार गोपाल सिवाकोटी चिन्तन र सोलिसिटर डेभिड एन्राइटले पत्रकारहरुसँग संक्षिप्त कुराकानी कार्यक्रम रहेको छ । यस सुनुवाइमा सहभागी हुनका लागि सम्पूर्ण इच्छुक गोरखाहरुलाई गेसोले अनुरोध गरेको छ ।

यसै बीच तुलबहादुर पुन भिसी संरक्षक रहनु भएको संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गत ११ नोभेम्बरदेखि लण्डनस्थित नेपाली टिभीमार्फत हरेक शनिवार साँझ ८ बजे एक घण्टाका लागि प्रशारण गर्दै आएको "साप्ताहिक गोरखाली आवाज" नामक कार्यक्रम अब "साप्ताहिक नेपाली आवाज"का नामबाट प्रशारण हुने भएको छ ।

गेसोद्वारा पहिलोपटक सञ्चालित यस टेलिभिजन कार्यक्रमबाट गोरखाहरुको मात्र नभएर बेलायतदेखि नेपालसम्म तथा युरोपदेखि एसिया र मध्यपूर्वसम्मका सम्पूर्ण नेपाली समुदायका हक, हित र अधिकारसम्बन्धी गतिविधिहरुलाई समेत व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको नाम नेपाली आवाज गरिएको कुरा कार्यक्रम सञ्चालक तथा निर्देशक हरि सिवाकोटीले बताउनु भएको छ ।