प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गेसोको खुलापत्र
२८ नोभेम्बर २००७ । लण्डन
तपाइँले हिजो नोभेम्बर २७, २००७ का दिन गोरखालीहरूको माग पुरा गर्नका लागि बेलायतस्थित नेपाली राजदूतलाई निर्देशन दिने भन्ने कुरा संचारमाध्यमबाट थाहा पाउँदा म आर्श्चर्यचकित भएँ । तपाइँकै मातहतमा रहेको परराष्ट्र मन्त्रालयले यस विषयमा औपचारिकरूपमा एक शब्द पनि लेख्ने साहस नगर्ने, तपाइँको मन्त्रिपरिषद्को बैठकमा कहिल्यै पनि गोरखालीहरूको मुद्दा छलफलको विषय हुन नसक्ने अनि संसद्मा माननीय डम्बर सम्बाहाम्फेले दर्ता गर्नु भएको सार्वजनिक महत्वको प्रस्तावमाथि पनि कुनै छलफल गर्न नदिने । तर घरी घरी गोरखालीहरूको माग पुरा गर्नका लागि राजदूतलाई निर्देशन दिन्छु भनेर के तपाइँले लाहुरेहरूलाई झुक्याउन खोज्नुभएको होइन त
?तपाइँका आदेश र निर्देशनहरू अनि तपाइँले बोलेका शब्दहरू कहाँ कति बिक्छन् भन्ने कुरा के हामीलाई थाहा छैन र ?
त्यसैले आउने दिनहरूमा यस्ता कुनै पनि किसिमका बकवासहरू नगर्नु हुन अनुरोध छ ।गोरखाहरूको बारेमा तपाइँ, तपाइँको सरकार र पार्टीको के कस्तो दृष्टिकोण र हैसियत छ भन्ने कुरा के हामीलाई थाहा छैन र
? तर्सथ यस्ता सस्ता प्रचारबाजीका काम अब उप्रान्त झुक्किएर पनि नगर्नु हुन विनम्र अनुरोध छ ।यदि तपाइँसँग साँच्चिकै इमान्दारिता र हिम्मत छ भने गोरखाहरूलाई समान पेन्सन र क्षतिपर्तिको अधिकार हुनुपर्छ भनेर तपाइँको परराष्ट्र मन्त्रालयमार्फत बेलायतको रक्षा मन्त्रालयलाई तुरून्तै पत्राचार गर्न हार्दिक अनुरोध छ ।
विगत साक्षी छ कि बेलायतसँग कसरी लड्नुपर्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । तपाइँहरूजस्ता दास मनोबृत्ति भएका व्यक्तिहरूबाट गोरखाहरूको समान अधिकारका पक्षमा बोल्ने र बोलेअनुसार काम गर्ने कुरा कदापि सम्भव छैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
स्वाभिमानी गोरखाहरू तपाइँका पिछलग्गु होइनन् र बेलायतका दास पनि होइनन भन्ने कुरा आजैदेखि राम्ररी बुझिदिनु होला ।
भवदीय
पदमबहादुर गुरूङ्ग
सभापति
बोधार्थः परराष्ट्र मन्त्रालय, विभिन्न नेपाली दूतावास, सांसद् तथा राजनीतिक पार्टीहरू