विश्वकर्मा वेलफेयर सोसाइटीद्वारा मन्त्रीको स्वागत
अल्डरशोट । विश्वकर्मा वेलफेयर सोसाइटी युकेले कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मालाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ ।
अल्डरशोटको गोर्खा राजदुत रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा सोसाइटीका अध्यक्ष मिठुलाल विश्वकर्माले कृषि तथा सहकारी मन्त्री विश्वकर्मालाई स्वागत गर्नु भएको हो । उहाँले मन्त्री विश्वकर्मालाई बेलायतमा बसोबास गर्ने विश्वकर्मा परिवारको तर्फबाट उपहार समेत प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथि तथा मन्त्री विश्वकर्माले प्रवासमा विश्वकर्मा परिवार मिलेर बसेको र विश्वकर्मा वेलफेयर सोसाइटी स्थापना गरेर आपसी दुःख सुखमा सहभागी हुने परम्पराको विकास गरेकोमा खुसी ब्यक्त गर्नु भयो ।
उहाँले नेपालको बर्तमान राजनैतिक स्थितिको चर्चा गर्नुहुँदै चैत भित्र संविधानसभाको चुनाव हुने विश्वास दिलाउनु भयो । मन्त्री विश्वकर्माले भन्नुभयो "संविधानसभाको चुनावबाट मात्र देशको नयाँ संरचना बन्न सक्छ र सो नयाँ संरचनाले दलितहरुको अधिकार सुनिश्चित गर्नेछ ।"
सोसाइटीका अध्यक्ष मिठुलाल विश्वकर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष विश्वकर्माले सोसाइटीको कार्यक्रममा सहभागी भईदिनु भएकोमा मन्त्रीलाई धन्यवाद दिंदै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
कार्यक्रममा सोसाइटीको बारेमा चर्चा गर्नुहुँदै नेपाली समाज युकेका केन्द्रीय सदस्य एवं विश्वकर्मा वेलफेयर सोसाइटीका सल्लाहकार मनोज अञ्जानले दलितको नाममा विश्वभरी झोलीको रुपमा विश्वकर्मालाई उभ्याउनु भन्दा आफ्नो राजनैतिक अधिकार सुनिश्चित गर्न राज्यसत्तामा दलितलाई समानुपातिक प्रतिनिधित्व गराउनु आजको आवश्यकता हो भन्नुभयो ।
सदियौं देखि अन्याय र अत्याचारमा परेका दलितहरुको मुक्ति विदेशमा नभई देशमै खोज्नु पर्ने बताउँदै सल्लाहकार अञ्जानले भन्नुभयो "बर्गीय मुक्ति नभई जातीय मुक्ति हुन सक्दैन । त्यसैले दलितहरु लामो समयदेखि बर्गीय मुक्ति आन्दोलनमा लागेका हुन् ।" उहाँले दलितहरुको मुक्तिको निमित्त संविधानसभाबाटै सबै क्षेत्रमा विशेष अधिकारको सुनिश्चित गरिनु पर्ने माग राख्नु भयो ।
कतिपय ब्यक्तिहरुले एनजीओ तथा आइएनजीओ मार्फत दलितलाई मागिखाने भाँडो बनाएको प्रसंग उल्लेख गर्दै मनोज अन्जानले भन्नुभयो "विश्वमा जहाँ बसेका भएपनि दलित जातिले आफ्नो जातिलाई मागी खाने भाँडो नबनाई दलितको पूर्ण मुक्तिको लागि एकतावद्ध हुनर्ुपर्छ ।"
त्यसैगरी सोसाइटीका सल्लाहकार तथा नेपाली समाज युकेका केन्द्रीय सदस्य धनकाजी सरगमले दलितको नाममा पिछडिएको बर्गलाई सहकारीमा सामेल बनाई सहकारीको कार्यक्रम ल्याउने हो भने उत्तम हुने थियो भन्दै कृषि तथा सहकारी मन्त्री विश्वकर्मा समक्ष जिज्ञासा राख्नु भएको थियो ।
सोसाइटीका सचिव थमन विश्वकर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा वि.सं. १९९७ मा दलित मुक्ति आन्दोलनका संस्थापक सभापति भगत सर्वजितका विषयमा समेत चर्चा भएको थियो ।