नेपाली कांग्रेसभित्र अहिले प्रधानमन्त्रीको निर्वाचन भन्दा पनि आफ्नै महाधिवेशनको चटारो छ । पार्टीमा नेतृत्व लिनको लागि नेताहरु बिचार भन्दा पनि गुट निर्माण गर्ने काममा लागेका छन् । महाधिवेशनको नाममा छुट्टा छुट्टै कार्यालय खोल्ने काम पनि भइरहेका छन् । अहिले कांग्रेसमा पुरै पुरुषहरुको दवदवा छाएको छ । यति हुँदा हुँदै पनि कांग्रेसमा बिचारको राजनीति हुनपर्छ भन्दै महिला सहभागिताको कुरा उठाउने केही प्राज्ञ व्यक्तित्वहरु आफ्नो सोचमा अझै अडिग छन् । प्रस्तुत छ : संविधान सभाको निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारीलाई पराजित गरी सभासदमा काठमाडौंबाट निर्वाचित हुनु भएकी नेपाल प्राध्यापक संघ तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष सुप्रभा घिमिरे र हाम्रा काठमाडौं प्रतिनिधि जनकराज थपलियाबीच भएको कुराकानीको सम्पादित अंश ।
कांग्रेस जिल्ला महाधिवेशन पनि सम्पन्न भयो, सबैले यो अधिवेशनलाई सकारात्मक रुपमा लिएका छन तर कुनै पनि जिल्लाबाट एक जना महिला पनि सभापतिमा निर्वाचित भएनन् नि किन ?
हो, महिलालाई नीति निर्णय गर्ने स्थानमा पुर्याउन पार्टीले वातावरण तयार गरेको छैन । हुन त पार्टीको आलोचना गरेको जस्तो हुन्छ तर यथार्थ नै यही हो कि पार्टीले महिलालाई यो स्थानमा ल्याउन नै चाहदैन । वि.स. २०४६ सालपछि महिलाहरुमा नयाँ किसिमको जागरण आयो । पछि विभिन्न संघ-संगठनको सक्रियतामा महिलाहरुलाई ज्यादै सशक्त बनाइयो तर २०५६ सालतिर पार्टी विभाजित भयो । त्यसमाथि पनि राजा प्रतिगमनका साथै उनको प्रत्यक्ष शासन जस्ता कुराले महिलाहरुको उत्थानमा रोकावट ल्यायो । राजनीति अन्योलग्रस्त भयो । यो विगत दश वर्षमा जसरी महिला अगाडि आउनु पर्ने हो त्यो देखिएन । महिलाहरु स्वभावले पनि अलि राजनीतिमा लाग्न आफुलाई सहज ठान्दैनन् । राजनैतिक इच्छा हुँदा हुँदै पनि घरायसी वातावरणले पनि च्यापेको हुन्छ । साथै पार्टीको इच्छा पनि नभएकै हो । महिलालाई हेर्ने दृष्टिकोण अझै पनि पुरुषहरुमा बदलिएको छैन भन्ने यो महाधिवेशनबाट पुनः स्पष्ट भएको छ । फेरि जिल्ला सभापति भनेको सभासद भन्दा पनि ठुलो महत्व राख्ने पद रहेछ । त्यस्तो पदमा महिलाहरुलाई जान दिने अवस्था नै नबनेको मैले देखेको छु । महिलाहरु अलि सक्रियरुपमा नआएसम्म त्यो स्थान हासिल गर्ने अवस्था छैन ।
संविधान सभा निर्वाचन सम्पन्न हुँदा महिलाहरु यति आए, उनीहरुलाई यति प्रतिशत स्थान दिने, छुट्याइने जस्ता लोभलाग्दा आश्वासनहरु आएका थिए तर त्यस्तो स्थान दिइएको छ त ?
महिलालाई ३३ प्रतिशत भन्ने कुरा पार्टीहरुले गरेका होइनन् । यो त महिला आफैले आवाज उठाएर आएको निर्णय हो । महिलाहरुको आवाजमा पार्टीहरु आवाज मिलाउन मात्रै आएका हुन् । राजाको प्रतिगमनको कदमका विरुद्ध जव सात राजनैतिक दल लागेको थियो त्यो बेलामा हामी सबै जना लागेका थियौ । यही समयमा हामीले बाहिरबाट कराएर मात्रै भएन आ-आफ्नो पार्टीलाई कमिट गराउने भनेर लाग्यौं । केन्द्रीय समितिमा त्यो प्रस्ताव राखेर पास गराएर महिलाहरुको एउटा संस्था खोल्ने भनेर 'अन्तरपार्टी महिला सञ्जाल' भनेर स्थापना पनि गर्यौं । २००६ मार्चमा सबै पार्टीको नेतृत्व आएर हामीहरुलाई सञ्जाल स्थापनाको शुभकामना पनि दिए । जब फेरि संसद पुर्नस्थापन भयो महिलाहरुको सहभागिताको कुरै आएन । हामी संसदमा भएका महिलाहरु मध्ये विद्यादेवी भण्डारीले महिलाहरुको सबै क्षेत्रमा सहभागी हुनुपर्छ भनेर प्रस्ताव संसदमा लगिन् । पहिला नै सबै नेतृत्वहरुले कमिट गरिसकेको हुनाले यो प्रस्ताव पारित भएको हो । तर पछि माओवादीहरुले गर्दा यस्तो भएको भन्ने हल्ला चलाइयो, त्यो गलत हो । प्रस्ताव त पारित भयो तर महिलाहरुको सहभागिता अझै हुन सकिरहेको छैन ।
कांग्रेसको आगामी केन्द्रीय महाधिवेशनबाट के अपेक्षा गर्नु भएको छ ?
समावेशीकरण, सिमान्तकृत वर्ग, महिला सहभागितालाई अत्याधिक गराउनु पर्छ भन्ने हिसावले कुराहरु आइरहेका छन । हामीले आसाचाँहि के गरेका छौ भने एउटा यस्तो व्यक्तित्व निर्वाचित होस् जसले एघारौं महाधिवेशनमा एकीकृत भएको नेपाली कांग्रेसको नेतृत्व गर्न सकोस् । तर एकीकृत भए पनि अहिलेसम्म पनि त्यस्तो देखिदैन । यो त जिल्ला अधिवेशनहरुले पनि देखाइ सके, यस्तो नहोस् । अव नेपाली कांग्रेसका सबै व्यक्तिहरुले म नेपाली कांग्रेसको भनेर भन्दा पुग्ने होस् । विचारले नेपाली कांग्रेसलाई अगाडी डोर्याउने नेतृत्व आओस् । यसका लागि हामीले बैचारिक अभियान थालिरहेका पनि छौं । भीमवहादुर तामाङले अहिले सभापतिको लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । जब हामी समावेशीको कुरा उठाइरहेका छौं भने उहाँ लाई किन सभापति नबनाउने ? । अरु जति सभापतिका उम्मेदवारहरु छन तीनीहरु भन्दा कुनै पनि ढंगले उहाँको पार्टीमा कम योगदान छैन । केही ३/४ पटक प्रधानमन्त्री पनि भैसके कोही चाँहि कांग्रेसमा भविष्य छ भनेर लाग्दा पनि कहिँ नपुग्ने हुनु भएन । भीमबहादुरजीले विचारलाई सधैँ अग्रस्थानमा लिइ हिड्नु भएको छ । अहिले देख्दा त्यति सशक्त देखिदैन भन्नेहरु पनि छन् तर विचार बोकेर हिड्नेहरु अवसर पाए भने अरुभन्दा माथि नै हुन्छन् ।
तपाई कुन समूहको ?
समूह भनेर यही हो भन्ने त छैन । तर म वैचारिक अभियान अन्तर्गत नै छु । यही अभियान अन्तर्गतबाट नै संसदीय दलको नेताको निर्वाचनमा पनि सहभागिता जनाएको थिए । कुलवहादुर गुरुङ र मेरो बराबरी मत आएको थियो ।
अलि फरक प्रश्न गरौं, रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएर पनि पाँच पटक भै सक्यो तर प्रधानमन्त्री बन्नु भएन । के देशले नयाँ प्रधानमन्त्री नपाउने नै भयो त ?
हुनत प्रधानमन्त्री छान्नको लागि विभिन्न कोणबाट प्रयासहरु नभइरहेका भने होइनन् । राजनैतिक असझदारीका कारण यो सफल हुन सकिरहेको छैन । जब २०६२/०६३ सालमा सबै पार्टीहरुबीच समझदारी थियो तर जब माओवादीको सेनापति प्रकरण भयो त्यसले सबै समझदारीहरु टुटाइदिएको छ । एक अर्कामा विश्वासको संकट आएको छ । माओवादी आफुलाई अरु दलहरुले मिलेर समाप्त पार्न खोजे भनेको जस्तो ठानिरहेको छ । हामीहरुलाई लोकतन्त्र नै मासिने हो कि भन्ने चिन्ता छ । नेपाली कांग्रेस दोस्रो ठुलो दल भएको नाताले एमालेको सरकारलाई सहयोग गरिरहेको थियो । अझै पनि माधवकुमार नेपालको सरकारबाट हामीले मन्त्रीहरुलाई फिर्ता बोलाएका छैनौं । त्यसकारणले देशले नयाँ प्रधानमन्त्री पाउने परिस्थिती जटिल छ । कांग्रेसले नयाँ प्रधानमन्त्री देशलाई दिने प्रयास गरिरहेको छ । आशा राखौं देशले चाडै नै नयाँ प्रधानमन्त्री पाउनेछ ।
राजनैतिक दलको 'इगो' ले देश त ध्वस्त हुने भयो जस्तो तपाईलाई लाग्दैन ?
लाग्छ । देश ध्वस्त भैसक्यो भन्ने चाँहि होइन । संक्रमण कालमा संसारभर यस्तै नै हो । सजिलो हुने थियो भने संक्रमण काल नै भनिन्न थियो होला । तर देशमा संकटको स्थिति छ, अझ विस्वासको संकट छ दलहरुमा, त्यो हट्नु पर्छ । त्यसका लागि माओवादीले १२ बुँदे सम्झौतादेखिका सम्झौताका प्रतिवद्धताहरु मान्नु पर्छ । यदि यी सबै सम्झौताहरु माओेवादीहरुले मान्ने हो भने हामी माओवादी कै नेतृत्वमा पनि सरकारमा जान तयार छौं । तर माओवादीले कुनै पनि आफ्ना प्रतिवद्धताहरु पालना गरेको छैन । संविधान सभा लम्व्याउने वेलामा पनि तीन बुँदे समझदारी भएकोमा दुई बुँदा कार्यान्वयन भैसक्यो तर माओवादीले गर्नु पर्ने बुँदा भने कार्यान्वयन भएको छैन ।
देशले कसरी निकास पाउने त ?
अहिलेको संकट हटाउन सबैपक्षबाट प्रयास हुनुपर्यो । मुख्यतः शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु पर्यो । किनभने ६ महिनाभित्र सेना समायोजन गरिसक्ने भनिएको थियो । माओवादीको नौ महिने एकछत्र शासन हुँदा पनि समायोजन हुन सकेन । दलहरुमा देखिएको अविश्वास हटाउन माओवादीले पहल गर्नु पर्यो । एकअर्कामा विश्वासको वातावरण बन्नासाथै देशले सहजै निकास पाउँछ जस्तो मलाई लाग्छ ।
केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा तपाईको केही भन्नु छ ? तपाईको बैचारिक एजेण्डा के हो ?
सबै भन्दा पहिला त नेपाली कांग्रेस एक भएर जानु पर्यो । देउवा पक्ष अथवा कोइराला पक्ष भनेर महाधिवेशनमा जानु भएन । संस्थागत रुपमा पार्टी चल्नु पर्यो । पार्टीका सबै निर्णय व्यक्तिगत हुनु भएन, संस्थागत हुनुपर्यो । विगतका २०/२१ वटा विभागहरु राम्रो सँग चल्न सकेनन् । यी भगिनी संस्थामा आफ्ना मानिसहरु थमथमाउने क्रम रोकिनु पर्यो । पार्टीलाई गुट गुटमा विभाजन गर्ने कार्यलाई यो महाधिवेशनले निरन्तरता नदेवोस् ।