Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
हामी माओवादीकै नेतृत्वमा पनि सरकारमा जान तयार छौं-सुप्रभा घिमिरे (महिला सभासद तथा नेत्री नेपाली कांग्रेस)
 

नेपाली कांग्रेसभित्र अहिले प्रधानमन्त्रीको निर्वाचन भन्दा पनि आफ्नै महाधिवेशनको चटारो छ । पार्टीमा नेतृत्व लिनको लागि नेताहरु बिचार भन्दा पनि गुट निर्माण गर्ने काममा लागेका छन् । महाधिवेशनको नाममा छुट्टा छुट्टै कार्यालय खोल्ने काम पनि भइरहेका छन् । अहिले कांग्रेसमा पुरै पुरुषहरुको दवदवा छाएको छ । यति हुँदा हुँदै पनि कांग्रेसमा बिचारको राजनीति हुनपर्छ भन्दै महिला सहभागिताको कुरा उठाउने केही प्राज्ञ व्यक्तित्वहरु आफ्नो सोचमा अझै अडिग छन् । प्रस्तुत छ : संविधान सभाको निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारीलाई पराजित गरी सभासदमा काठमाडौंबाट निर्वाचित हुनु भएकी नेपाल प्राध्यापक संघ तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष सुप्रभा घिमिरे र हाम्रा काठमाडौं प्रतिनिधि जनकराज थपलियाबीच भएको कुराकानीको सम्पादित अंश ।

कांग्रेस जिल्ला महाधिवेशन पनि सम्पन्न भयो, सबैले यो अधिवेशनलाई सकारात्मक रुपमा लिएका छन तर कुनै पनि जिल्लाबाट एक जना महिला पनि सभापतिमा निर्वाचित भएनन् नि किन ?

हो, महिलालाई नीति निर्णय गर्ने स्थानमा पुर्‍याउन पार्टीले वातावरण तयार गरेको छैन । हुन त पार्टीको आलोचना गरेको जस्तो हुन्छ तर यथार्थ नै यही हो कि पार्टीले महिलालाई यो स्थानमा ल्याउन नै चाहदैन । वि.स. २०४६ सालपछि महिलाहरुमा नयाँ किसिमको जागरण आयो । पछि विभिन्न संघ-संगठनको सक्रियतामा महिलाहरुलाई ज्यादै सशक्त बनाइयो तर २०५६ सालतिर पार्टी विभाजित भयो । त्यसमाथि पनि राजा प्रतिगमनका साथै उनको प्रत्यक्ष शासन जस्ता कुराले महिलाहरुको उत्थानमा रोकावट ल्यायो । राजनीति अन्योलग्रस्त भयो । यो विगत दश वर्षमा जसरी महिला अगाडि आउनु पर्ने हो त्यो देखिएन । महिलाहरु स्वभावले पनि अलि राजनीतिमा लाग्न आफुलाई सहज ठान्दैनन् । राजनैतिक इच्छा हुँदा हुँदै पनि घरायसी वातावरणले पनि च्यापेको हुन्छ । साथै पार्टीको इच्छा पनि नभएकै हो । महिलालाई हेर्ने दृष्टिकोण अझै पनि पुरुषहरुमा बदलिएको छैन भन्ने यो महाधिवेशनबाट पुनः स्पष्ट भएको छ । फेरि जिल्ला सभापति भनेको सभासद भन्दा पनि ठुलो महत्व राख्ने पद रहेछ । त्यस्तो पदमा महिलाहरुलाई जान दिने अवस्था नै नबनेको मैले देखेको छु । महिलाहरु अलि सक्रियरुपमा नआएसम्म त्यो स्थान हासिल गर्ने अवस्था छैन ।

संविधान सभा निर्वाचन सम्पन्न हुँदा महिलाहरु यति आए, उनीहरुलाई यति प्रतिशत स्थान दिने, छुट्याइने जस्ता लोभलाग्दा आश्वासनहरु आएका थिए तर त्यस्तो स्थान दिइएको छ त ?

महिलालाई ३३ प्रतिशत भन्ने कुरा पार्टीहरुले गरेका होइनन् । यो त महिला आफैले आवाज उठाएर आएको निर्णय हो । महिलाहरुको आवाजमा पार्टीहरु आवाज मिलाउन मात्रै आएका हुन् । राजाको प्रतिगमनको कदमका विरुद्ध जव सात राजनैतिक दल लागेको थियो त्यो बेलामा हामी सबै जना लागेका थियौ । यही समयमा हामीले बाहिरबाट कराएर मात्रै भएन आ-आफ्नो पार्टीलाई कमिट गराउने भनेर लाग्यौं । केन्द्रीय समितिमा त्यो प्रस्ताव राखेर पास गराएर महिलाहरुको एउटा संस्था खोल्ने भनेर 'अन्तरपार्टी महिला सञ्जाल' भनेर स्थापना पनि गर्‍यौं । २००६ मार्चमा सबै पार्टीको नेतृत्व आएर हामीहरुलाई सञ्जाल स्थापनाको शुभकामना पनि दिए । जब फेरि संसद पुर्नस्थापन भयो महिलाहरुको सहभागिताको कुरै आएन । हामी संसदमा भएका महिलाहरु मध्ये विद्यादेवी भण्डारीले महिलाहरुको सबै क्षेत्रमा सहभागी हुनुपर्छ भनेर प्रस्ताव संसदमा लगिन् । पहिला नै सबै नेतृत्वहरुले कमिट गरिसकेको हुनाले यो प्रस्ताव पारित भएको हो । तर पछि माओवादीहरुले गर्दा यस्तो भएको भन्ने हल्ला चलाइयो, त्यो गलत हो । प्रस्ताव त पारित भयो तर महिलाहरुको सहभागिता अझै हुन सकिरहेको छैन ।

कांग्रेसको आगामी केन्द्रीय महाधिवेशनबाट के अपेक्षा गर्नु भएको छ ?

समावेशीकरण, सिमान्तकृत वर्ग, महिला सहभागितालाई अत्याधिक गराउनु पर्छ भन्ने हिसावले कुराहरु आइरहेका छन । हामीले आसाचाँहि के गरेका छौ भने एउटा यस्तो व्यक्तित्व निर्वाचित होस् जसले एघारौं महाधिवेशनमा एकीकृत भएको नेपाली कांग्रेसको नेतृत्व गर्न सकोस् । तर एकीकृत भए पनि अहिलेसम्म पनि त्यस्तो देखिदैन । यो त जिल्ला अधिवेशनहरुले पनि देखाइ सके, यस्तो नहोस् । अव नेपाली कांग्रेसका सबै व्यक्तिहरुले म नेपाली कांग्रेसको भनेर भन्दा पुग्ने होस् । विचारले नेपाली कांग्रेसलाई अगाडी डोर्‍याउने नेतृत्व आओस् । यसका लागि हामीले बैचारिक अभियान थालिरहेका पनि छौं । भीमवहादुर तामाङले अहिले सभापतिको लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । जब हामी समावेशीको कुरा उठाइरहेका छौं भने उहाँ लाई किन सभापति नबनाउने ? । अरु जति सभापतिका उम्मेदवारहरु छन तीनीहरु भन्दा कुनै पनि ढंगले उहाँको पार्टीमा कम योगदान छैन । केही ३/४ पटक प्रधानमन्त्री पनि भैसके कोही चाँहि कांग्रेसमा भविष्य छ भनेर लाग्दा पनि कहिँ नपुग्ने हुनु भएन । भीमबहादुरजीले विचारलाई सधैँ अग्रस्थानमा लिइ हिड्नु भएको छ । अहिले देख्दा त्यति सशक्त देखिदैन भन्नेहरु पनि छन् तर विचार बोकेर हिड्नेहरु अवसर पाए भने अरुभन्दा माथि नै हुन्छन् ।

तपाई कुन समूहको ?

समूह भनेर यही हो भन्ने त छैन । तर म वैचारिक अभियान अन्तर्गत नै छु । यही अभियान अन्तर्गतबाट नै संसदीय दलको नेताको निर्वाचनमा पनि सहभागिता जनाएको थिए । कुलवहादुर गुरुङ र मेरो बराबरी मत आएको थियो ।

अलि फरक प्रश्न गरौं, रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएर पनि पाँच पटक भै सक्यो तर प्रधानमन्त्री बन्नु भएन । के देशले नयाँ प्रधानमन्त्री नपाउने नै भयो त ?

हुनत प्रधानमन्त्री छान्नको लागि विभिन्न कोणबाट प्रयासहरु नभइरहेका भने होइनन् । राजनैतिक असझदारीका कारण यो सफल हुन सकिरहेको छैन । जब २०६२/०६३ सालमा सबै पार्टीहरुबीच समझदारी थियो तर जब माओवादीको सेनापति प्रकरण भयो त्यसले सबै समझदारीहरु टुटाइदिएको छ । एक अर्कामा विश्वासको संकट आएको छ । माओवादी आफुलाई अरु दलहरुले मिलेर समाप्त पार्न खोजे भनेको जस्तो ठानिरहेको छ । हामीहरुलाई लोकतन्त्र नै मासिने हो कि भन्ने चिन्ता छ । नेपाली कांग्रेस दोस्रो ठुलो दल भएको नाताले एमालेको सरकारलाई सहयोग गरिरहेको थियो । अझै पनि माधवकुमार नेपालको सरकारबाट हामीले मन्त्रीहरुलाई फिर्ता बोलाएका छैनौं । त्यसकारणले देशले नयाँ प्रधानमन्त्री पाउने परिस्थिती जटिल छ । कांग्रेसले नयाँ प्रधानमन्त्री देशलाई दिने प्रयास गरिरहेको छ । आशा राखौं देशले चाडै नै नयाँ प्रधानमन्त्री पाउनेछ ।

राजनैतिक दलको 'इगो' ले देश त ध्वस्त हुने भयो जस्तो तपाईलाई लाग्दैन ?

लाग्छ । देश ध्वस्त भैसक्यो भन्ने चाँहि होइन । संक्रमण कालमा संसारभर यस्तै नै हो । सजिलो हुने थियो भने संक्रमण काल नै भनिन्न थियो होला । तर देशमा संकटको स्थिति छ, अझ विस्वासको संकट छ दलहरुमा, त्यो हट्नु पर्छ । त्यसका लागि माओवादीले १२ बुँदे सम्झौतादेखिका सम्झौताका प्रतिवद्धताहरु मान्नु पर्छ । यदि यी सबै सम्झौताहरु माओेवादीहरुले मान्ने हो भने हामी माओवादी कै नेतृत्वमा पनि सरकारमा जान तयार छौं । तर माओवादीले कुनै पनि आफ्ना प्रतिवद्धताहरु पालना गरेको छैन । संविधान सभा लम्व्याउने वेलामा पनि तीन बुँदे समझदारी भएकोमा दुई बुँदा कार्यान्वयन भैसक्यो तर माओवादीले गर्नु पर्ने बुँदा भने कार्यान्वयन भएको छैन ।

देशले कसरी निकास पाउने त ?

अहिलेको संकट हटाउन सबैपक्षबाट प्रयास हुनुपर्‍यो । मुख्यतः शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्‍यो । किनभने ६ महिनाभित्र सेना समायोजन गरिसक्ने भनिएको थियो । माओवादीको नौ महिने एकछत्र शासन हुँदा पनि समायोजन हुन सकेन । दलहरुमा देखिएको अविश्वास हटाउन माओवादीले पहल गर्नु पर्‍यो । एकअर्कामा विश्वासको वातावरण बन्नासाथै देशले सहजै निकास पाउँछ जस्तो मलाई लाग्छ ।

केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा तपाईको केही भन्नु छ ? तपाईको बैचारिक एजेण्डा के हो ?

सबै भन्दा पहिला त नेपाली कांग्रेस एक भएर जानु पर्‍यो । देउवा पक्ष अथवा कोइराला पक्ष भनेर महाधिवेशनमा जानु भएन । संस्थागत रुपमा पार्टी चल्नु पर्‍यो । पार्टीका सबै निर्णय व्यक्तिगत हुनु भएन, संस्थागत हुनुपर्‍यो । विगतका २०/२१ वटा विभागहरु राम्रो सँग चल्न सकेनन् । यी भगिनी संस्थामा आफ्ना मानिसहरु थमथमाउने क्रम रोकिनु पर्‍यो । पार्टीलाई गुट गुटमा विभाजन गर्ने कार्यलाई यो महाधिवेशनले निरन्तरता नदेवोस् ।

 
अन्य शीर्षकहरु
हामी माओवादीकै नेतृत्वमा पनि सरकारमा जान तयार छौं-सुप्रभा घिमिरे (महिला सभासद तथा नेत्री नेपाली कांग्रेस)
करिव करिव व्यवस्थापिका नै असफल भइसकेको छ-काशीराज दाहाल, (संविधानविद तथा अध्यक्ष प्रशासकीय अदालत)
युवाहरुको आगमनले पार्टीको पूनर्जागरण होला भन्ने अपेक्षा गरेको छु : नरहरि आचार्य (नेता, नेपाली कांग्रेस)
कुनै पनि राजनीतिक पार्टीर्हरुको प्राथमिकतामा संविधान भन्ने नै छैन : सुर्दशन बराल मगर (यूवा नेता, एनेकपा माओवादी)
एमाले पर्टिभित्रका गुटहरु साँस्कृतिक हिसावले विचलित छन्-योगेश भट्टराई (युवा नेता, नेकपा एमाले)
अव हुने द्वन्द्व वहुपक्षीय हुने देखिन्छ : खगेन्द्र संग्रौला (अगुवा, नागरिक समाज)
माओवादी आन्दोलनले देशव्यापी तनाव सिर्जना गरेको छ - झलनाथ खनाल (अध्यक्ष नेकपा एमाले)
राष्ट्रपति आफैले गल्ती सच्याउनु नै सबैभन्दा उत्तम हुन्छ खगेन्द्र संग्रौला,अगुवा, नागरिक समाज
हाम्रो पार्टी अहिलेको अवैधानिक सरकारमा जाँदैन – उपेन्द्र यादव, अध्यक्ष, फोरम
हामी सहमतिको नजिक पुगेका छौं । युवराज ज्ञवाली, एमाले नेता
जनताको मतको ठुलो अपमान भएको छ कृष्ण पहाडी, अधिकारकर्मी
संविधान बेलैमा लेख्नेतर्फ सोच्नु पर्छ । कृष्णप्रसाद सिटौला, नेता नेपाली काङग्रेस
मलाई उनीहरुले दिन प्रतिदिन उपेक्षा गरे - जेवी टुहुरे, जनगायक
उपप्रधानमन्त्रीको लोभमा एमाले र काँग्रेसले हामीलाई फूटाउने षड्यन्त्र गरे - उपेन्द्र यादव (अध्यक्ष, मधेसी जनअधिकार फोरम)
यही अवस्था रहे मुलुक पाकिस्तान बन्न सक्छ - रामराजाप्रसाद सिंह (गणतन्त्रवादी नेता)
मैले चाहे ज्ञानेन्द्रलाई यहीँ भेट्छु इण्डिया जानु पर्दैन – गिरिजाप्रसाद कोइराला
संविधान निर्माणमा माओवादीले चासो दिएको छैन – केपी शर्मा ओली, नेता नेकपा एमाले
आकाशै खसेपनि मैले गेसोको नेतृत्व छोड्दीन – पदमबहादुर गुरुङ, अध्यक्ष गेसो काठमाडौं
नयाँ नेतृत्व चयन गर्नेबाहेक कांग्रेससँग अरु विकल्प छैन – नरहरि आचार्य, नेता नेपाली कांग्रेस
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
कानून तथा संविधानसभा मन्त्री देव गुरुङसँग
गृहमन्त्री वामदेव गौतमसँगको बार्ता
नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठसँगको बार्तालाप
ज्ञानेन्द्रलाई लखेट्नु पर्ने अवस्था निम्तिन सक्छ । डा. सुन्दरमणि दीक्षित, नागरिक समाजका अगुवì
वाइसीयलले ठोक्ने र कुट्ने काम गरिरहेको छ -केपी शर्मा ओली, नेता - नेकपा एमाले
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly