भारतको दादागिरी अव त अति नै भयो । लेउ, लेदो, कीरा, रसायन जे हालेर खानेकुरा भन्दै बेचे पनि भारतले नेपालमा छुट पाउनु पर्ने रे ! यसको बारेमा कुरै उठाउन नहुने रे !
तर कुरा उठाए छन् अनि कुरो उठाउने पत्रकारलाई उल्टो कारबाही गर भनेर आदेश पो दिन थाल्यो भारतले । यो त दिउसै नाङ्गो हिँडेसरी नै भयो । 'जो चोर उसैको ठूलो स्वर' भनेर हाम्रा बाबु बाजेले बनाएको उखान यहाँनेर भने राम्रै चरितार्थ भयो ।
हुन त भारतले यसो गर्यो, उसो गर्यो भनेर जति कराए पनि, जति उफ्रिए पनि न भारतले टेर्छ, न नेपालका कठपुतलीहरुले सुन्ने गर्छन् । मध्य पश्चिममा नेपालको एउटा सिङ्गो गाउँकै सीमा मिच्दा र गाउँलेलाई सताएको आम नेपालीले देख्दा र सुन्दा पनि परराष्ट्रमन्त्री बनेकी सुजाताले सुनिनन् र देखिनन् पनि । अथवा उनले हेर्न चाहिनन् वा सुन्न नै चाहिनन् । अनि जोसुकै कराएर के गर्नु ?
देशको पचासौं ठाउँमा सीमा मिचिएको छ । हरेक दिन भारतीय पुलिसले नेपाली पिटेको छ, लुटेको छ तर टाउके नेताहरु सुन्ने कान लाउने होइनन् । महिनौंपिच्छे कमिलाको ताँतीझैं दिल्ली ओहोर दोहोर गरेर भाग्य अजमाउने र इतिहास बनाउने खेलमा नै टाउके नेताहरु मस्तराम छन् ।
देशका मुलीहरु नै भारतीयहरुको सुली खाने भएपछि भैयाहरु कोसँग किन डराउँथे ? त्यसैले उल्टो पत्रकारलाई नै कारबाहीको माग गरे । तर यी सुली खाएका नेताहरु मौन छन् । सायद भित्रै भित्रै भैया सुदसँग घुँडा टेकेर माफी मागि नै सकेका होलान् ।
भारतीय दुतावासको एक कर्मचारी हाकाहाकी फोन गरेर सांसदलाई पद खोस्ने धम्की दिन्छ । नभन्दै धम्की दिएकै पर्सिपल्ट सांसद पद पनि खोसिन्छ । यो सबैले बुझेका छन् र यसको विरोधमा बोलेका छन् । तर सडक बोलेर के गर्नु, सिंहदरवार नै सर्लक्कै लैनचौरको उत्तरी टुँडामा भित्रिएपछि । भारतको सोचाई छ,-'सुद गभर्नर हो र माधव नेपालहरु मूख्यमन्त्री हुन् ।' त्यस्तैगरी माधव नेपालहरु पनि त्यही सोच्छन्,-'सुद गभर्नर र आफू मुख्य मन्त्री हो ।' कोही राम, कोही हराम भए कम्तीमा पनि यति सारो अचाक्ली त हुन्न थियो होला । तर यहाँ त हराम नै हराम परेछन् । हरामहरु मिलेर सिङ्गो नेपालनै हलाल गर्दैछन् । त्यसैले गभर्नरसाव आदेश दिन्छन्, मुख्यमन्त्री साव आदेश पालना गर्छन् । ती पत्रकार महोदयले पक्कै सजाय भोग्नुपर्छ । केवल थाहा हुन बाँकी छ, सजाय कस्तो खालको भोग्नुपर्छ । धन्य छिमेकी, धन्य मूख्यमन्त्रीहरु, धन्य गभर्नरहरु । अवाक् छन् जनताहरु ।