Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
बेलायतमा नव वर-वधूझैं यात्रा
 

बिजयराज न्यौपाने

जीवनमा पहिलोबाजि अहिले छिरेका हौं, हामी दम्पति इङलैण्ड । भाइ हरि र उसको परिवारलाई भेट्ने र इङलैण्ड घुम्ने उद्देश्यले नै हामी यहाँ छिरेका हौँ । जीवनमा विदेशी राष्ट्रको नाम भारतपछि इङलैण्ड नै पहिलोबाजि सुनेको हो तर इङलैण्ड भनेर होइन बेलायत भनेर सुनेको हो । त्यतिबेला राजा भएको मुलुकका हामी नेपालीले बेलायतमा त राष्ट्रप्रमुख बेलायती रानी छन् रे भनेर पहिलोबाजि सुन्दा छक्क परिन्थ्यो । सानोमा झुटपत्ती, सत्र (तास) खेल्दा तासको मिस्सी र वास्सालाई बेलायती मिस्सी र चिनियाँ वास्सा भन्ने गरिन्थ्यो । सायद मिस र वादशाहबाट नै तासमा त्यस किसिमको अङ्क, रङ्ग र रोगनको वन्दोवस्त मिलाइएको थियो होला । आज त्यही बेलायती मिस्सी अर्थात बेलायती रानीको देशमा करिव पचास वर्ष पछि छिर्न पाउँदा हाम्रो भूईँमा खुट्टा छैन । मानौं हामीहरु भूईँ फुट्टाझैं भएका छौँ ।

भाइ हरिराज र भाइ बुहारी लीलाको आमन्त्रण पत्र र स्पोन्सर पत्र प्राप्त गरेपछि कति उत्साह र उमङ्गले हामी भिसाका लागि आवेदन र्फम भर्ने दौडमा लागेका थियौ । त्यसको कुनै साँधी छैन । पासपोर्ट बनाउने लगायत नाता प्रमाणित, सम्पत्ति विवरण र मुल्याङ्कन जस्ता कामका लागि मेरो गृह जिल्लाको सदरमुकाम बेसीसहर म पटक पटक गएको थिएँ । नेपालमा एउटा डाँडो काट्यो अनि अर्को डाँडो देखिए जस्तो एउटा काम सक्यो अनि अर्को काम भयो मलाई र बेसीसहर धाइरहेँ । एकपटक गएर पासपोर्ट बनायौँ त अर्को पटक गएर नाता प्रमाणित गर्‍यौँ अनि तेश्रोपल्ट गएर सम्पत्ति विवरण र मुल्याङ्कन । यसै सिलसिलामा पनि छुटफुट कति कति, कहिले टेलिफोन कहिले चिठीबाट मागजाम । त्यत्रो झमेला खेप्दा पनि कुनै थकाईको महसूस भएन । कहिले एक्लै कहिले दुक्लै धाइरहेँ । बेसिसहर र बल्लतल्ल बिट मर्‍यो । नेपाल बन्द, बेसिसहर बन्दका झमेला खेप्दै, झोला बोकेर दुई पटक हिँड्दै खेपेको सास्ती पनि रमाइलै भयो । वास्तवमा दुःख र सुख दिने मन नै रहेछ । मनमा सुखको अनुभूति हुँदा यी सारा झन्झट मामला पनि रमाइला बनिरहेका थिए मलाई । बेसिसहरबाट बल्लतल्ल सल्ट्याएका कागजपत्र फेरि अंग्रेजीमा अनुवाद गर्न फेरि अर्को चक्कर सुरु भयो । पटक पटक धाएँ ववरमहल । स्पेलिङ नमिलेर २/३ चोटि त अनुवाद गरिसकेँ, सकेपछि पनि धाएँ । वास्तवमा पढेर भन्दा पनि परेर मान्छेले सिक्दो रहेछ । यसै सिलसिलामा फेरि काठमाडौंको घरको सम्पत्ति विवरण तयार गर्न कहिले टेकु, कहिले त्रिपुरेश्वर, वागदरवार अर्थात काठमाडौं महानगरपालिका, वडा कार्यालय ठमेल निकै धाएँ । ट्याक्स, मालपोत तथा अन्य दस्तुर बुझाएँ । यति गरेर अव भिसाका लागि र्फम ल्याउनु, भर्नु, जाँच्नु हरेक कामपछि थकान छैन । गजव छ, बरु सुरुकै उत्साह उत्तिकै समान छ । अहिले आफैलाई फर्केर हेर्दा कस्तो भूत (रङ) चढेको थियो होला जस्तो लाग्छ । अव त तपाईले पढ्नु भएछ भने पनि अनुमान गर्नुहोला । कस्तो रङ चढेको थियो होला ? हुन त तपाईहरु बेलायत छिर्दा पनि यस्तै पो भएको थियो कि ? यति गरेर वल्लतल्ल तीन पल्टसम्म र्फम भर्ने अभ्यास गरेर भिसा आवेदन र्फम नागपोखरीमा लगाउने गएँ । वैशाख मासको घाम छक्काली बेलादेखि शिरमा थापे लाम लाग्दा नागपोखरीमा पसिना पोखरी बन्न गएको थियो । बल्लतल्ल पसिना पुछेर भित्रिएपछि दुई स्टेप पार गरी र्फम बुझाएँ, फेरि भएन भन्ने पो हो कि भन्ने पिरलो । यति गरेर र्फम बुझाएँ । हरेक औंलामा छाप दलेर मानौं पञ्जापत्रझैं म ल्याप्चे ठोक्दै थिएँ । 'जसो जसो बाउन बाजे, उसै उसै स्वाहा' भनेझैं, यति गरेर र्फम लगाएँ, बुझाएँ । एक हप्तापछि भिसा आउँछ भनेर हप्ता पुग्नु अघिल्लो दिनदेखि हरेक दिन बिहान र बेलुकीपख नागपोखरीमा फोन ठोक्दै गएँ । आएको छैन, आउँदै छ, ट्रान्जिटमा छ भन्दैमा दुई हप्ता गयो । बल्लतल्ल दिल्ली पुगेर कागज फिर्ता आयो, अव फेरि भिसा नमिलेर सिल्ली हुनुपर्ने पो हो कि भन्ने अर्को पिरलो सल्क्यो । चिठी बुझेर हत्तपत्त बाहिर आई खाम उप्काउन लागेँ । कहाँ उप्किन्छ र ! दोबाटोमा बसेर म च्यात्दै थिएँ खाम । श्रीमतीले के खाम च्यात्ने ढङ्ग पनि छैन, भनेपछि अल्लि सावधान भएँ । 'बाटोमा हिँड्नेले के भन्लान्, के जातिलाई भन्दा देख्नेलाई शरम' पो भयो कि ! खोलेँ तर काला अक्षर भैंसी बराबर भयो, केही बुझिन र पासपोर्ट पल्टाएर हेर्ने बुद्धि दिमागमा चढ्यो, देखेँ दिल्लीबाट लागेको छ छाप र भनेँ, भिसा मिल्यो मनमनले । श्रीमतीले पनि हेरिन् । अव भने ढुक्क भयो । मन के को ढुक्क हुन्थ्यो नि ! अव कहिले जाने, हवाई टिकट, स्टर्लिङ पाउण्ड साटफेर, जानका लागि आवश्यक सामानको तयारी मिलाउन जुटाउनतिर मन बाँदरको स्वभाव लिएर बुर्लुक्क उफ्रन लाग्यो ।

मेरो पहिलो वाल कविता संग्रह 'सुनटिकी जुनटिकी' (२०४५) लाई सचित्र दोस्रो संस्करण प्रकाशनमा ल्याउन लाग्दै थिएँ म । चित्रहरु तयार भइसकेका थिए । आर्टिस्टकहाँ पुगेर मुखपृष्ठ र अन्तिम पृष्ठ बनाउँदै थिएँ । त्यो सबै काम चट्ट छोडेँ । एउटा साहित्यिक संस्थामा उमेदवारी नै हापेँ । अरु कैयौं घरेलु काम पछि गरौला भनेर गोली मारेँ । भिसा आइसकेपछि अव नेपालमा बसेर व्यर्थ दिन किन कटाउने, भनि हत्तपत्त चारै दिनमा (भिसा पाएको) बेलायत उड्ने दिन किटान गरेँ । जेष्ठ १ गते (२०६७) को निर्णयले जेष्ठ ६ गते विहिवार नै उड्ने टिकट लिएँ । ख्याल ख्याल जस्तो, एउटा कम्प्युटरबाट झिकेको पि्रन्ट । पहिले त टिकट पनि दामी नै हुन्थ्यो । अहिलेको सजिलो, छोटो छरितो चलन भनी चित्त बुझाएँ । यता भाइलाई फोन हान्दै गएँ । उता भाइले पनि दाइभाउजुको तयारी बुझ्न र अथ्र्याउन फोन त दिनमै २/३ पल्ट हान्दै गए । यताउतिबाट पनि फोन आएकै छ । निकै व्यस्त निकै महत्वको व्यक्ति पो बनेँ क्यारे जस्तो ।

बेलायत जान भनी लुगाफाटाको हिसावकिताव पनि गरे, ५/६ महिना बस्नका लागि मजैसँग पुग्ने गरेर । बजेट बनाएँ, आफै ठूलो झन ठूलो हुँदै गयो । गञ्जी, कट्टु, रुमाल, कमेज, सुट, टाई, टोपी, बेल्ट, जुत्ता, मोजा चप्पलदेखि सुटकेससम्म किनेँ । त्यसमाथि रात्री पोशाक, ट्रयाकसुट, स्वीटर, ज्याकेट थपेँ । एउटा सुटकेस भरियो, अर्को हाते झोला पनि भरियो । चार कम साठी पुग्ने उमेरसम्म एकैचोटी यति धेरै सामान मेरा लागि किनिएको यो नै पहिलो पल्ट हो । उता श्रीमतीका लागि त्यसरी नै नयाँ नयाँ आइटमहरुको लिष्ट बन्यो । कहिल्यै कुर्तासलवार नलगाएकी, सधैँ धोती साडीमा रमाएकी यिनले अरुको लहलहैमा लागेर २/३ जोर कुर्तासलवार, साडीब्लाउज र पेटिकोट हालिन् । त्यसमाथि दामीदामी पछ्यौरा, सुइटर, जुत्ता, मोजा, चप्पल, लेदर व्याग किनियो उनका लागि । अझ थप अरे बाबा ! कति कति थपिए मेकअपका सामान । तीजधरी बेलायतमा मान्नुपर्छ भनी चुरा, धागा, टीका थैलीसैली के के हो । थैलीको मुख त महिलाले कति सजिलैसँग फोर्दा रहेछन् अहिले मैले थाहा पाएँ । हामी छोरो मान्छेको जात कमाउने महिलाकै हातमा राखिदिने । उनीहरु भने २० थरी खर्च भएको देखाएर धन्य म भएर पुर्‍याएको छु भनि रिसाइदिने र छोरो मान्छेको मुख चाहिँ सिईदिने, थैलीको मुखचाँहि फुकाउने । वा ! उनको त सुटकेस बेउलीकोझैं भरिभराउ भएको छ । हुन त मेरो पनि भएको छ । यस्तो लाग्छ, यतिबेला भर्खर हाम्रो विवाह पो हुँदैछ र त्यसका लागि हामी तयारी गर्दैछौ कि ! आज ४० वर्षअघि भएको नव किशोरावस्थाको विवाहको हेक्का कति हुनु ? धेरथोर त होला नै । वर्षले म चौध देखेको भए पनि लाजले मुख उठाउन सकेको होइन । बाह्र टेकेर तेह्र देख्दी श्रीमतीमा पनि त्यही गति । बिहे भएको कमसेकम एक दशकपछि देखियो कि श्रीमतीको मुख । वा आमाको अगाडि धेरैपछिसम्म पनि परिएन सँगै दुई जना । आजको जमाना हुन्थ्यो भने हाम्रा पनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड हुन्थे कि त्यतिबेला । त्यसैले यत्रो तयारीको पछि आज घरिघरि उनको मुहार हेर्दै र सोध्दै थिएँ, 'के हाम्रो पुनः विवाह हुँदैछ ?' उनी पनि सायद भित्रभित्र दङ्ग पर्दै थिइन् होला, यो के भइरहेछ ? के गरिँदैछ ? भनेर । के विवाह सात समुन्द्रपारी गएर हुने हो हाम्रो ? 'छ्या ! कति ठटि्टरा,' भनेपछि मेरो ध्यान अन्यन्त्र मोडियो ।

घरबाट निस्कँदा सुट, टाई, त्यसमा लगाऊँ/नलगाऊँ भन्दै थपेँ ढाका टोपी । छरिछाँटले म निस्किएँ । सानी छोरी सुष्माले हामीलाई त्यतिवेला भरिलो माला पहिर्‍याई दिई । हामीलाई भने माला ल्याएको छ भन्ने चाल कत्तिबेलासम्म पनि थाहा थिएन । मैले मुख खोल्न त सकिनँ तर मनमनले भनेा, 'म नववर झैं भए, पुरानो भए पनि । श्रीमती इश्वरी नववधु झैं भइन्, दुई बीसे पन्द्र वर्षपछि । उनको मुखमा चोरेर पुलुक्क हेरेँ, सायद मस्किँदै र हाँस्दै थिइन् उनी पनि । अर्कैतिर मन फेरि झस्कियो । ५/६ महिनासम्मको लागि घरपरिवार, इष्टमित्र सबलाई छोडेर टाढा टाढा जाँछु भन्ने भावले कताकता यो मनमा बिझायो पनि । स-साना (छोराछोरी तर्फका) नातीहरु, छोरीहरु, छोराबुहारीको मायाले मनको दैलो उघ्रन्नकि झैं पनि भयो । खोलेँ मनको दैलो जसरी तसरी, तर पनि सोचे हामी नभएपछि दुई छोरीहरु दुईतिरबाट माइत कतै फिर्दैनन् कि ? छोराबुहारी र नाति पनि न्यासि्रन्छन् कि ? कस्तो छ यो मायाको संसार । यी सबै छन् र पो मेरो सानो संसार बनेको छ । अर्कोतिर मन बेलायत कुँद्यो र भाइका परिवारसँग मीठो भेटघाट हुने कुरामा पनि आशावादी भएको छु । मनमा गुनिरहेँ, यो मायाको संसारको व्यापार कति अनौठो छ । कति चाँडो उफ्रेर सात समुन्द्रपारी पुगेर नौ वर्ष सानो भाइको छोरो, कृशिर र छोरी सीपासँगै सम्पूर्ण परिवारसँग लुटपुटिएको छ । मनको स्वभाव जानी सक्नु छैन । त्यसैले त मन र कर्कलाको पानी एक अर्कासँग दाँजिदा रहेछन् । जे होस् हामी निस्कियौँ, २/२ सुटकेस झोलाहरु टन्ट्याङमन्ट्याङ झुण्ड्याउँदै । ट्याक्सी पहिले नै तयार थियो । एकैछिनमा सामाखुसी, कपुरधाराबाट एयरपोर्ट पुग्यौँ । हामी एयरपोर्ट भित्रिएपछि हामीलाई पुर्‍याउन गएका छोराछोरी फर्किए । हामी चाँहि बेलायतको धोकोले पोको बोकेर यताउती गर्‍यौँ । झोलाहरुको तौल लिएपछि अल्ली ढुक्क भयो र गलोको मालाको याद आयो । माला गलामा लर्किएकै छ, झिक्न मन छैन, भैरहोस् जस्तो लाग्यो । दिल्लीमा आइपुगेपछि प्लेनबाट उत्रँदा एकैचोटि सहसर््र सूर्य टाउकोमा खनिएझैं भयो । त्यति तातो थियो दिल्ली मध्य दिनमा । माला गलाबाट झिकेर हातमा लिएँ, छोड्न सकिन । दिल्लीबाट हिथ्रो विमानस्थल आइपुग्दा पनि माला छोड्न सकिनँ । जति टाढा पुग्दै गयौँ, उति मालाको माया गाढा हुँदै गएको पाएँ । सयपत्री फूलको माला हिथ्रो विमानस्थलबाट बाहिर निस्कँदासम्म हातमा छ । आफैलाई एकचोटी नियालेर हेरेँ, सुटबुट, टाई र टोपीमा सजिएको म जस्तो कोही देखिनँ । मानौंँ त्यो मानिसको भीड र लयमा म बेहुलाझैं र श्रीमती बेहुलीझैं उभिइरहृयौँ । जाँच पास सकेर निस्कँदा फेरि भाइ हरि, भाञ्जी अनुजा र भाञ्जा सुमन प्राइभेट ठूलो कार लिएर पर्खिरहेका थिए । एकैछिन खुसि साटेर हामी प्राइभेट कारबाट २/३ घण्टा सललल बग्दै रात १९ः०० बजे पिटबरो निदरटन आइपुग्यौँ, याने भाईको घर । कृशिर 'ठूलो बा' भनी रमाउँदै अँगालोमा आइपुग्यो र भन्यो 'मलाई के ल्याइदिनुभयो ?' नेपालबाट आएका कोसेली झिक्दै र थुप्रो लगाउँदै गयौँ हामी । अर्कोतिर हाम्रा लागि भायबुहारी लीलाले तयार पारेका खानेकुरा थिए । हाँस्दै, रमाउँदै, मुख मिठ्याउँदै खानपान र वातचित्तमा लाग्यौँ हामी । मानौं अव वर वधूझैं हामी घर भित्रीसकेका छौँ, बेलायतको घर ।

 

 
अन्य शीर्षकहरु
बेलायतमा नव वर-वधूझैं यात्रा
चालिसेले छुँदाको यो क्षण - केदार 'संकेत'
एकैचोटि फिल्म सुटिङको ओइरो ः तीन महिनादेखि बुकिङ भए कलाकर्मीहरु
परिवर्तन हुँदैछन् तीज मनाउने शैलीहरू माधव निर्दोष
राष्ट्रिय चर्चापछि जन्मभूमिलाई माया मारे कलाकारहरुले
म रोई दिएँ –रीना प्रधान
झन् झन् चर्चा बटुल्दै राजु सिंह
ज्ञानेन्द्र शाहको कर्तूत संझिदै श्रष्टाहरुको बहस
युबराज र कृष्णको सम्झनामा भुमिराज राई
वुवाआमाप्रति गर्नुपर्ने कर्तव्यबाट म चुकेको छु –के भण्डारी
आन्दोलनका दिन सम्झँदै अर्जुन पराजुली
अटोग्राफ लिएर गइन् उनी
कलाकार - दशैं र तिहार
अन्याय र अत्याचारका बिरुद्धमा दलन
रत्नपार्कमा गणतान्त्रिक कविता
नेपाली लोकगीत र बिमाकुमारी दुरा
गजल - सुमन घिमिरे
देउडा गायक समाजसेवामा janak Raj Thapaliya जनकराज थपलिया
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly