लण्डन/कलाकार एवम् माइती नेपालकी गुडविल एम्बेस्डर जोहना लुम्लेको निमन्त्रणामा बेलायत आउनु भएकी समाजसेवी अनुराधा कोइरालालाई यहाास्थित विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने भएका छन् । सीएनएन हिरोज नोमिनी, साउथ एसियामा चेलीबेटी बेचबिखन र त्यसको रोकथाममा सक्रीय योगदान पुर्याउँदै आउनु भएकी कोइराला गत ८ मेमा बेलायत आउनु भएको थियो । उहालाई हिथ्रो विमानस्थलमा एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ, केन्ट फोक्सटन सहरको भिजिट कोअर्डिनेटर काउन्सिलर धन गुरुङ, साउथ इस्ट इकाई मगर संघका अध्यक्ष चन्द्र पुलामी, भूपू गोर्खा सैनिक संघ नेसाका अध्यक्ष केसबहादुुर गुरुङ, केन्ट आमा समूहका प्रतिनिधि धन तामाङ, साउथ लण्डनका समाजसेवी डा. देवी गुरुङ, कलाकार केसर गुरुङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
समाजसेवी कोइरालालाई मे १० मा फोक्सटनका काउन्सुलर धन गुरुङको संयोजकत्वमा केन्ट क्षेत्रका काउन्सुलरहरुसँग अफिसियल भेटघाट गराइएको छ । त्यस्तैगरी ९ तारिखमा वहाँ एनआरएन यूकेको कार्यक्रममा सहभागी हुनु भएको थियो । त्यसैगरी मे १२ मा नेपाली दूतावास लण्डनमा जोहना लुम्लेसहित विभिन्न उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गरिने कार्यक्रम छ ।
मे १३ मा लण्डन वेस्टमिनिस्टरमा विभिन्न बृटिश मिडिया सोसाइटीका व्यक्तिहरुसँग भेटी चेलीबेटी बेचबिखन र त्यसको रोकथामसम्वन्धी कार्यक्रममा कोइराला सहभागी हुने कार्यक्रम रहेको समेत काउन्सिलर धन गुरुङले जनाउनु भएको छ । समाजसेवी कोइरालाले आफ्नो भ्रमणका क्रममा नेपाललाई माया गर्ने बेलायतका राजनीतिक व्यक्तित्व, समाजसेवीहरु र नेपालीहरुसँग भेटघाट गर्नु हुने कार्यक्रम रहेको समेत जनाइएको छ ।