अल्टरशट/तमु धी युकेले गोर्खा कपको अन्तिम तयारी पूरा गरिसकेको जनाएको छ । गत शनिबार निरमाया रोधीं घरमा आयोजित पत्रकार सम्मेलनमा तमु धीले गोर्खा कपको तयारी सम्वन्धमा सञ्चारकर्मीहरुलाई जानकारी गराएको थियो ।यस वर्षको गोर्खा कपमा भेट्रान तर्फ ४० बर्ष भन्दा माथिका १६ वटा टिम र ननभेट्रान तर्फ ३२ वटा टिमले प्रतिश्पर्धा गर्ने जनाइएको छ । टिम दर्ता मे १४ देखि सुरु भई २१ मे सम्म कायम रहने र हरेक टिमले २ सय पाउण्ड प्रवेश शुल्क बुझाउनु पर्ने तमु धीले जनाएको छ । टिमका खेलाडीहरुलाई फोटो सहितको परिचय पत्र बुझाउन समेत अनुरोध गरिएको छ ।
अल्डरशटको क्वीन्स एभिन्यू, आर्मी ग्राउण्डमा आयोजना हुने गोर्खा कप ९ जना समूहमा नक आउटको आधारमा खेलिने छ । फिफाको नियमलाई मान्यता दिई खेल खेलाइने सो कपमा हङ्गकङ्ग र बेल्जियमवाट दुइवटा अतिथि टिमहरुलाई समेत समावेश गरिने तमु धीले जनाएको छ । प्रतिस्पर्धामा प्रथम हुनेलाई ननभेट्रान तर्फ ७ सय पाउण्ड र भेट्रान तर्फ २ सय पाउण्ड, द्वितीय हुनेलाई ननभेट्रान तर्फ ३ सय पाउण्ड र भेट्रान तर्फ १ सय पाउण्डको पुरस्कार प्रदान गरिने भएको छ ।
त्यसैगरी प्यारा जम्पलाई खेलको विशेष आकर्षणका रुपमा राखिएको छ । गोर्खा कप सम्वन्धी विस्तृत जानकारी तमु धींको आधिकारिक वेभसाइट www.tamudhee.org.uk <http://www.tamudhee.org.uk> मा राखिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।