काठमाडौ मे ८ / प्रधानमन्त्री माधवकुमार नेपालले आन्दोलनरत एकीकृत नेकपा माओवादीले अनिश्चितकालीन आमहड्ताल स्थगित गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
माओवादीको हड्ताल फिर्ताको घोषणाले सम्वाद, सहमति र सहकार्यको मार्गमा सकारात्मक सहयोग पुर्याएको विश्वास व्यक्तगर्दै प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् ।
उनले शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउने र संविधान लेख्ने कार्यका लागि अनावश्यक हठ त्यागेर सबैलाई मान्य हुने सहमतिमा आउनुबाहेक अरु विकल्प नभएको स्पष्ट पारे । प्रधानमन्त्री नेपालले शनिबार एक विज्ञप्ती निकाली माओवादीलाई आमहड्ताल स्थगन गरेकोमा धन्यवाद दिदै संवैधानिक मान्यताहरू र लोकतन्त्रका आधारभूत मूल्यहरूका आधारमा सबै समस्याको समाधान खोज्ने दिशामा अघि बढ्न आग्रह गरे ।
उनले एकीकृत नेकपा -माओवादीको नागरिक पार्टीमा रूपान्तरण, माओवादीका लडाकाहरूको समायोजन र पुनःस्थापना, वाईसीएलको अर्धसैन्य संरचनाको खारेजीलगायत शान्ति प्रक्रियासाग जोडिएका कार्यहरू सम्पन्नगर्दै राष्ट्रिय सहमति कायम गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।