योगराज राई
केन्ट/हङकङ युके नेपाली समाज केन्टले नयावर्ष २०६७ सालको अवसरमा फोक्स्टनको कम्युनिटी सेन्टरमा 'शुभकामना साँझ' कार्यक्रमको आयोजना गरेको छ । अपि्रल ३ तारिख शनिवार आयोजना गरिएको सो कार्यक्रममा समाजका अध्यक्ष सोनाम सुब्बाले सहभागीहरुलाई नयाँ वर्षको शुभकामना टक्रयाउँदै सबैलाई स्वागत गर्नु भएको थियो । उहाँले यो संस्था केवल हङकङबाट युके आएर बसोवास गरिरहेका नेपालीहरुको मात्र नभएर सबै बेलायतवासी नेपालीहरुलाई समेट्ने अभिप्रायले स्थापना गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि बीएफबीएस गोर्खा रेडियो युकेका महाप्रबन्धक खेम गुरुङले नया वर्ष २०६७ सालको शुभकामना ब्यक्त गर्दै, हङकङ युके नेपाली समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
त्यसैगरी फोक्स्टन नेपलिज् कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर हर्कराज राई, सगरमाथा गोर्खा नेपलिज् कम्युनिटीका अध्यक्ष नरेन्द्र लिम्बु, सन् १९९८ का मिस्टर हङकङ रोशन लिम्बु, सन् २००० का मीस हङकङ ममिता गुरुङ्गलगायत केन्ट वरिपरिका नेपालीहरुको कार्यक्रममा उपस्थिति थियो । फोक्स्टन नेपलिज् कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर हर्कराज राईले हङकङ युके नेपाली समाजले नयाा वर्षको उपलक्ष्यमा यस्तो कार्यक्रमको आयोजना गरेर आफूलाई पनि आमन्त्रण गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
लक्ष्मी राईद्वारा सञ्चालित कार्यक्रममा आस्फोर्डको प्रतिविम्ब सांगीतिक दल, छविलाल चोङबाङ्ग, आशिक गुरुङ्ग, सुबिना तामाङ्ग, सुनैना लिम्बु र अनुपमा राईले गीत गाएर सबैलाई मनोरन्जन दिएका थिए । कार्यक्रममा सिरिश सुनुवारको नृत्य निर्देशनमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।