पछिल्लो समयमा नेपाली सुगम संगीतको बाटो युवा पुस्तामा हस्तान्तरण भएको छ । आधुनिक गीतका रुपमा रहेका सुगम र सदाबहार संगीत सुन्न मानिसहरु अहिले पनि नारायण गोपाललाई संझिने गरेका छन् । तर समय परिवर्तन हुँदै जाँदा ती पुराना गीतहरु हराउदै जाने सम्भावना धेरै छ । यही बीचमा ती पुराना गीतसंगीतलाई संरक्षण गर्ने गृहकार्यमा लागेका छन् एक पुराना संगीतका हस्ती अम्मर गुरुङ ।
हुन त उनको नाम लिदा मात्रै पनि नेपाली संगीतको शिर ठाडो हुन्छ । हरेक सृजना राष्ट्रिय प्रभावसाग जोडीएर आउने यी स्रष्टाले पछिल्लो समय पुराना गीतलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे चिन्तन मनन र छलफल गर्न थालेका छन् ।
दार्जीलिङको माटोमा जन्मिएका हुन् उनी । अनि दार्जीलिङमै हुर्किए र दार्जीलिङबाटै सुरु गरे नेपाली संगीतको यात्रा । धेरै समय अगाडि उनले गाएको नौलाख तारा उदाए....भन्ने गीत चर्चामा आउने बित्तिकै प्रतिबन्धित भएको थियो । ४० बर्ष अगाडि दार्जीलिङमा प्रवासिएका नेपालीको पीडा गीत बनाएर गाएपछि नौलाख तारा उदाए....भन्ने अमर गुरुङको गीतलाई अलइण्डिया रेडियोले प्रतिबन्ध लगाएको थियो । 'त्यो त भारत विरोधी गीत रैछ भनेर प्रतिबन्ध गर्यो तर गीत भारत विरोधी नभई प्रवासी नेपाली मजदुरको पक्षमा थियो ।' अमर गुरुङ अहिले पनि सम्झन्छन् त्यो क्षणलाई भन्छन् -'पछि त्यही गीतले मलाई पनि चर्चामा ल्यायो, गीत पनि धेरैले मन पराए ।' अमर गुरुङको यो कुरा २०२६ सालभन्दा अगाडिको हो ।
नेपालको तनहुँ जिल्ला स्थित रिसिङमा जन्मिएर हुर्किएको गुरुङ परिवार बृटिश आर्मीमा भर्ति हुन दार्जीलिङ प्रवेश गरेको रहेछ । त्यही लाहुरे परिवारको छोरा हुन् अमर गुरुङ । उनका पिता तनहुामा जन्मिए पनि अमर भने दार्जीलिङमै जन्मिए । किनकि उनका पिता लाहुरेमा भर्ती भएपछि तनहुबाट सबै परिवारको बसोबास दार्जीलिङमै सर्यो ।
एउटा लाहुरेको छोरा तर संगीतमा यति धेरै बिशिष्टता पाउने काम कसरी गरे अमरले ? भन्छन् -'पिता लाहुरे भएकोले मलाई संगीतमा लाग्न दिइदैनथ्यो तर बचपनदेखि नै रगतको नशा नशामा संगीत बग्न थालेपछि मैले लुकी लुकी गीत गाउने गर्दथे ।' स्कुले अध्यनदेखि नै गीत गाउन थालेका अमर गुरुङले पछि बाजा बजाउन थाले । अनि दार्जिलिङमै संगीत अध्ययन गर्नतर्फ लागे । अमर गुरुङको संगीतले गोपाल योग्जन, नारायण गोपाल जस्ता स्रष्टासाग भेट गरायो । त्यसपछि अरुणा लामा, दिलमाया खाती लगायतलाई संगीत सृजनामा ल्याए उनीहरुले नै । अरुणा लामा अमर गुरुङकै संगीतकी विद्यार्थी हुन् भने अरुणा लामाका श्रीमान शरण प्रधान र कर्म योञ्जन लगायतलाई पनि संगीत सिकाए अमरले नै । २०२६ सालमा राजा महेन्द्रले अमरलाई नेपाल बोलाएका हुन् । दार्जीलिङबाट नेपाल आएका अमर गुरुङलाई राजा महेन्द्रले ठाउँ ठाउँमा गायन यात्राका लागि प्रयोग गरे । त्यही क्रममा प्रज्ञा प्रतिष्ठानमा जागिरे पनि भए अमर गुरुङ ।
दार्जीलिङबाट नेपालको यात्रा तय गरे पछि गुरुङले नेपाली संगीतको अध्ययनमा एउटा चेतना नै बिस्तार गरेको पाइन्छ । उनले संगीतको अध्ययनबारे चासो नदिएको भए अहिले विश्वविद्यालयले संगीतको अध्यापन सुरु गर्दैनथ्यो होला । अमरकै अध्यापनले नेपाली संगीत चेतनशिल भएको मानिन्छ ।
अमर गुरुङ संगीतको यात्रामा आउने जो कोहीलाई अध्ययन गर्न मात्रै भन्दैनन् आफै अध्ययन पनि गराउछन् । नेपाली संगीतको अध्ययनमा उनका पुस्तकहरु मात्रै पढे पनि संगीतको ज्ञाता भइन्छ भन्छन् सम्बन्धित विज्ञहरु । अमर गुरुङ एक गायक अथवा संगीतकार मात्र होइनन् संगीतका ज्ञाता नै हुन् । त्यसैले पनि उनलाई कलाकार वा संगीतकार भनिहाल्नु पूर्व उनलाई संगीतज्ञ भनेर सम्बोधन गर्छन् स्रष्टाहरु ।
बर्तमान परिवेशमा २/४ वटा गीत गाएर मिडिया धाउने र क्यासेट निकाल्न कम्पनीमा धाउने कलाकारहरु भन्दा धेरै गुणा माथि छन् अम्मर गुरुङ । उनी न त एल्बम निकाल्न नै रुचि पाल्छन न त गीत प्रचार प्रसार गर्न नै । तथापि उनका गीतहरुको खोजी गरिएन भने नेपाली संगीतलाई माया गरेको ठहर्दैन । नौलाख तारा उदाए....होस या त रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो ....अथवा उकाली चढ्दा पसिना पुछ्ने... । अम्मरले जति गीतमा संगीत रचना गरे ती सबैजसो गीतहरु अमर रहे, अजम्बरी रहे ।
पछिल्लो समयमा शब्द बिनाको संगीत रचनामा तल्लीन रहेका गुरुङले राष्ट्रिय गानलाई संगीतबद्ध गरेर अर्को इतिहास कायम गर्न सफल भएका छन् । जन आन्दोलनको सफलता पछि ब्याकुल माइलाद्वारा लिपिबद्ध सयौ थुँगा फूलका हामी एउटै माला नेपाली ..बोलको राष्ट्रिय गानलाई मिठो लयमा ढालेर संगीत दिन सफल अमर गुरुङ अहिले पनि संगीत सृजनामा ब्यस्त छन् । बिडम्बना राष्ट्रिय गान संगीत गर्ने उनलाई राज्यले भने जति महत्व दिनु पर्ने हो त्यति महत्व दिन सकेको छैन । संगीतको अध्ययन र अनुसन्धानमा उत्तिकै पोख्त रहेका अमर शब्द बिनाको संगीत सृजना गर्ने काममा पनि लागिपरेका छन् । त्यसभन्दा बढी उनी सक्रिय छन् पुराना गीतलाई संरक्षण गर्नका लागि ।