काठमाडौं/ सुन्दा अचम्म लाग्छ । सरकारको एउटा उच्च अधिकारी । जसले सिंगो जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेको हुन्छ । त्यही व्यक्तिमाथि निरंकुश तवरले दुव्र्यबहार गर्दै हिर्काउने मन्त्रीलाई कस्तो कारवाही होला ? आम नेपाली जनताहरु यही पर्खाइमा रहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले भने ती मन्त्रीलाई संरक्षण गर्न र कारवाही नगर्न ठाडो आदेश दिएका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर भयो यस्तै ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कार्बाही नगर्न ठाडो आदेश दिए प्रधानमन्त्री माधवकुमार नेपालले । हुन त विगतमा पनि धेरै अपराधिक गिरोह र डन भनिएकाहरु पनि सरकारबाटै संरक्षित भएका धेरै समाचारहरु प्रकाशमा आएका थिए । त्यही घटनाक्रममा नै थपियो अर्को घटना । जुन राज्यमन्त्रीलाई पक्राउ गर्न पूर्जी काटिएको छ । त्यही मन्त्रीलाई पक्राउ नगर्न निर्देशन दिए प्रधानमन्त्रीले ।
पार्टी विभाजनका बखत मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समेत चप्पलले हिर्काउने कोसिस गरेकी महिला नेतृ हुन् करिमा बेगम । पार्टीको विभाजनसागै सत्तामा जाने आधार भेट्टाएपछि उनले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि विभिन्न आरोप लगाएकी थिइन् । पार्टी विभाजनसागै हाल फोरम लोकतान्त्रिकभित्र पकड जमाएकी करिमा बेगम कृषि तथा सहकारी राज्यमन्त्री बनेकी छन् ।
गत साता पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरिन् यी मन्त्रीले । समाचार अनुसार पर्सामा आयोजित एक कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागि हुन पर्सा पुगेकी राज्यमन्त्री बेगमलाई विमानस्थलमा लिनका लागि प्रमुख जिल्ला अधिकारी भण्डारीले पठाएको गाडी पुरानो भएको र आफ्नो स्वागत सत्कारमा वास्ता नगरेको भन्दै राज्यमन्त्री बेगमले कार्यालयभित्रै प्रवेश गरी भण्डारीमाथि लगातार झापड हानेकी थिइन् । उनको सो व्यवहारपछि कर्मचारीहरु आन्दोलनमा उत्रिए । सात दिनको यो अवधिमा मन्त्रालयका कर्मचारीहरु पनि निरन्तर आन्दोलित भएपछि गृहमन्त्रालयले राज्यमन्त्री बेगमलाई पक्राउ गर्न नक्कली सूचना प्रकाशित गर्यो । तर, राज्यमन्त्रीकै सुरक्षामा प्रहरी संलग्न भएर विभिन्न कार्यक्रममा उनी सहभागी भैरहादा कारवाहीको कुनै संकेत देखिएको थिएन । घटनाक्रम अघि बढ्दै जाादा यही घटनाबाट फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने डरमा सरकार ढल्ने संकेतबारे कल्पना गरे प्रधानमन्त्रीले । यो अवधिमा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ती राज्यमन्त्रीलाई कारवाही गर्न भने । अन्य विभिन्न पक्षबाट पनि बेगमलाई कारवाही गर्न सिफारिस गरिए । यही बीचमा गृहमन्त्री भीम रावलले प्रधानमन्त्रीसाग भेटी यसबारेमा निरन्तर सम्वाद र छलफल गरे । यी सबै छलफल र आग्रहका बावजुद प्रधानमन्त्री माधवकुमार नेपालले राज्यमन्त्री बेगमलाई कारवाही गर्दा सरकारलाई अप्ठेरो पर्ने भन्दै उनलाई कुनै पनि कारवाही नगर्न आइतवार गृहमन्त्रीलाई ठाडो आदेश दिएका छन् । प्रधानमन्त्री नेपालले आइतवार विहान गृहमन्त्री रावललाई राज्यमन्त्रीलाई कारवाही नगर्न र पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई पर्साबाट काठमाडौंमा सरुवा गर्न भनेका छन् । सो को लगत्तै गृहमन्त्री रावलले कृषि राज्यमन्त्री बेगमद्धारा हातपात गरिएका पर्साका प्रमुख जिल्ला अधिकारी भण्डारीलाई काजमा काठमाडौं झिकाए । राज्यमन्त्रीलाई कारवाही गर्नुको सट्टा सरकारले भण्डारीलाई पर्सामै रहादा विवाद बढ्ने भन्दै काठमाडौं झिकाएको हो । मौखिक आदेशका भरमा काठमाडौं झिकाइएका भण्डारी आइतवारै गृहमन्त्रालयमा हाजीर हुन बाध्य भए । आफूमाथि हातपात गर्ने राज्यमन्त्रीमाथि कुनै कारवाही नहुादा भण्डारी चिन्तित मात्रै छैनन् राजनीतिको जालोबारे विज्ञ पनि बनेका छन् । राजनीतिमा हुने अन्यायलाई नजिकबाट नियालेका उनले आइतवार गृहमन्त्रालयमा हाजीर भएर एकसाताका लागि विदामा बसेका छन् ।
उता जिप्रका पर्साबाट पक्राउ पुर्जी थमाइए पनि राज्यमन्त्री वेगमलाई कारवाही नहुने भएको छ । यसबारे प्रधानमन्त्री नेपालले तत्काल राज्यमन्त्री बेगममाथि कारवाही अघि नबढाउन गृहमन्त्रीलाई निर्देशन दिए लगत्तै सो कुरा गृहमन्त्री रावलले सुरक्षा निकायलाई जानकारी गराइसकेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी जस्तो उच्च कर्मचारीमाथि भएको राज्यमन्त्रीको दुव्र्यवहारलाई ढाकछोप गर्न पछिल्लो समय विभिन्न प्रायोजित प्रोपगण्डा समेत तयार गरिएका छन् । जसअनुसार राज्यमन्त्री बेगमले प्रमुख जिल्ला अधिकारी भण्डारीले आफ्नो हात समातेको र त्यसकै आधारमा आफूले उनीमाथि झापड दिएको बताएकी छन् । राज्यमन्त्री बेगमले 'एउटी नारीको हात समाउने चरित्र कहाासम्मको हो ?' भनेर सार्वजनिक अभिव्यक्ति दिएकी छन् । तर यसलाई प्रायोजित प्रोपगन्डाको रुपमा लिएका छन् प्रमुख जिल्ला अधिकारी भण्डारीले । ' यी सबै राज्यमन्त्रीलाई कारवाही नगर्न ल्याइएका प्रायोजित चालबाजी हो ।' उनले भने ।