दशैंका कारण स्थगित हुन पुगेका नेपाली फिल्महरु यतिबेला धमाधम निर्माणको क्रममा जुटेका छन् । फिल्म सुटिङका लागि दशैं र तीहार पछिको समय उत्तम मानिने हुँदा पनि यतिबेला धेरै नेपाली फिल्महरु छायाङकनको क्रममा रहेका हुन् । धेरैजसो फिल्महरु एकैसाथ सुटिङमा परेका कारण कैयौं कलाकारहरु धेरैदिनसम्म बुकिङ भैसकेका छन् ।
गत साउन भदौ महिनादेखि फिल्म बनाउने ध्याउन्नामा रहेका निर्माताले पनि दशैं पछिको अवधि सुटिङका लागि राम्रो मानेर थाती राखेका थिए । ती सबैजसो फिल्महरु अहिले सुटिङको माहोलमा छन् । दैनिक फिल्म सुटिङ कार्य धेरै भएपछि कलाकार मात्रै होइन सुटिङ स्थल, विभिन्न उपकरण तथा गीत रेकर्डिङ स्टुडियोसमेत बुकिङ भैसकेका छन् । त्यसो त कैयौ निर्माताहरले गीत पहिल्यै रेकर्डिङ सकेर फिल्म बनाउनतर्फ लागेका पनि छन् ।
धेरैजसो निर्माताले आफ्ना चलचित्रका गीत रेकर्ड गराइसकेका छन् । कतिले चलचित्रको नामाकरण गरेर गीत वनाए त कतिले अनाम चलचित्रकै लागि समेत गीत संगीत तयार गरिसकेका छन् ।
'सुटिङ कहिले सुरू गर्ने ?' सबैको जवाफ एउटै थियो 'दशैंपछि' । अहिले दशैं सकिएको छ । सायद त्यसैले पनि होला अहिले सबैजसो चलचित्र छायाङ्कन गर्ने क्रममा छन् । फलस्वरुप आ-आफ्ना चलचित्रको तयारीमा व्यस्त छन् दर्जनभन्दा वढी निर्माता निर्देशक । चलचित्र निर्माणमा आएको वाढीसागै साउन भदौको झरीमा गीत रेकर्ड गराएर स्टुडियोतिर हराएका उनीहरू दशैं तिहार लगत्तै मैदानमा उत्रिएका छन् । चलचित्रका लागि आवश्यक उपकरण बुकिङ भइसकेका छन् । निर्माण उपकरण भाडामा लगाउन बसेका सबै कम्पनीका क्यामेरा, ट्रलिदेखि लाइटसम्मले एडभान्स पाइसकेका छन् ।
निर्देशक शोभित वस्नेतले एकसाथ दुई चलचित्र 'कन्यादान' र 'राज' को गीत रेकर्ड गराइसकेका छन् । 'छायांकनपूर्वका सम्पूर्ण काम सिध्याएर तयारी अवस्थामा रहेकोले अब सुटिङ सुरु हुनेछ' उनले सुनाए -'त्यसका लागि उपकरण बुकिंग भइसकेको छ ।'
उता निर्माता दिल श्रेष्ठ पनि सबै तयारी सकेर आफ्नो चलचित्र 'पर्खिराख है' को छायांकन गर्न तम्सिएका छन् । त्यस्तै नायक तथा निर्माता सुरज आरडी चलचित्रको न्वारन नै नभइकन संगीतकार वसन्त सापकोटालाई लिएर संगीतको जोहो गर्न तम्सिएका छन् । पप गायक नवीन भट्टराईको संगीतमा चलचित्र 'च्यालेन्ज' को गीत रेकर्ड गराइसकेका निर्माता संजय पाण्डे पनि सुटिङको अन्तिम तयारीमा छन् । निर्देशक विमल पौडेलले चलचित्र 'किसान' को छायाङकनपूर्वका सवै काम सिध्याएका छन् । हास्य चलचित्र 'धुम' वनाएर राजधानी वाहिरबाट राम्रै व्यापार गरेका जयकिशन पनि अर्को चलचित्र 'पार्टनर' बनाउने कार्यमा जुटेका छन् ।
अहिले नरेश पौडेलदेखि श्याम भट्टराईसम्म, भुवन केसीदेखि सुनिलकुमार थापासम्म, उद्धव पौडेलदेखि वसन्तकुमार श्रेष्ठसम्म सबैजना चलचित्र निर्माणको क्रममा रहेका छन् । यसअघि निर्माण भएका फिल्महरु दशैंको अवसर पारेर प्रदर्शन भए भने अव बन्ने फिल्महरु माघ महिनादेखि तयार हुन थाल्नेछन् । ती फिल्महरुमध्ये कतिपय फिल्महरु निर्माण कार्यमा मात्रै होइन प्रदर्शनका क्रममा पनि लाइनमा बस्नुपर्ने हुन्छ । 'फिल्म सुटीङ भन्दा पनि प्रदर्शनको लागि लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या बढी रहन्छ ' -चलचित्र निर्माणमा जुटिरहेका नरेश पौडेलले भने -'त्यसैले अचेल त पहिले नै समय लिएर मात्रै फिल्म बनाउन थालिएको छ ।'