सम्पत्ति विवरण सार्वजनिक भएपछि थाहा पाइयो कि स्वर्गीय मदन भण्डारी कि पत्नी विद्यादेवीको सम्पत्ति अथाह रहेछ । उनका छोरीहरु पनि निजी खर्च नगरिकनै राम्रा राम्रा विषयहरु पढिरहेका छन् । उनलाई ब्लड क्यान्सर भयो, राज्यको ढुकुटीबाट उपचारको लागि रकम प्रदान गरियो । उनको सम्पत्ति विवरणले बतायो कि उनी नेपालको राष्ट्रिय पूजीपतिमा पर्दिरहिछन् र तराइकी जमिन्दार पनि रहिछिन् । वास्तवमा उनले आफ्नै सम्पत्ति प्रयोग गरेर उपचार गर्नु पर्ने हो ।
त्यस्तै एमालेका अर्का नेता केपी ओलीले पनि मृगौला प्रत्यारोपण गरे । उनलाई पनि सरकारी ढुकुटी प्रदान भयो । उनी पनि राष्ट्रिय पुँजीपति वर्गमा नै पर्दछन् । भूपू प्रम तथा नेका सभापति गिरिजाप्रसाद कोइरालालाई पनि राज्यले उनको आवास खर्च जुटाइ दिएको छ । उनी पनि राज्यले पाल्नु पर्ने 'हैसियत' मा पुगेका व्यक्ति होइनन् ।
पूर्व प्रम कृष्णप्रसाद भट्टराईलाई राज्यको ढुकुटीबाट आवास नै निर्माण भएको छ । सम्पत्तिको हिसाबले एउटा सुराई र छाता मात्र भएको नेतामा दर्ज भएका नेतालाई राज्यले दिएको सुविधामा भने कसैको चित्त दुखाई रहेको छैन ।
के कााग्रेस, के एमाले, के राप्रपा सबै पार्टीका नेताले ०४६ सालदेखि यता राज्यको ढुकुटीमा औषधि उपचारको नाममा ब्रम्हलुट गरेका छन् । सरकार टिकाउन सांसदलाई नक्कली बिरामी बनाएर, हङकङ, बैङ्कक पुर्याएर औषधिको नक्कली बिल पनि राज्यको ढुकुटीले तिरेको छ । नेपाली जनताको रगत पसिनामा वर्षौंदेखि होली खेलिरहेका शाहवंशीय भाई भारदारहरुले पनि राज्यको ढुकुटीबाट औषधि खर्चको दुरुपयोग गरेरै छाडे । पछिल्लो समयमा हेलेन शाहलाई करोडौं रकम औषधि खर्च दिने बहुदले नेताहरु अझै पनि बिना लाज नेताको ताज पहिरिएर बसिरहेका छन् ।
सुत्केरी औषधिको बिल पेश गरेर खाने पुरुष सांसदज्यूहरुको शिर ठाडै नै रहेको छ । गृह मन्त्रालयको मनपरी बजेटको त कुरै नगरौं । हरेक गृहमन्त्रीले लुट्नु लुटेका छन्, लुटाउनु लुटाएका छन् त्यो मनपरी शिर्षकको बजेट ।
नेपालमा राजनीति ठूलो व्यवसाय बनेको छ । बन्द, व्यवसाय, उद्योग चलाउनेहरुले भन्दा राजनीति गर्नेहरुले सम्पत्ति जोडेका छन् । राज्यको ढुकुटीबाट औषधि खर्च पाएका छन् । गृहको मनपरी शिर्षकको बजेटबाट दशैं खर्च पाएका छन् । सांसद बन्नेले नक्कली बिल पेश गर्दै रकम गोजीमा हालेका छन् । नेपालमा नै हुने उपचार गर्न पनि दिल्ली र बैंकक धाउन पाएका छन् ।
तर आम नागरिक एउटा सिटामोल नपाएर मरेका छन् । भरखरै सुदुर पश्चिममा जीवनजल नपाएर ५०० जनाले ज्यान गुमाए । सरकारले जीवनजल पनि पुर्याउन सकेन । एउटा गरिव नागरिकले जसको पिसाब रोकिएको छ, उसले ५ दिन सम्म वीर अस्पतालको गेटमा ओछ्यान लगाएर सुतेको छ, उपचार पाउादैन । उसले उपचार पाउन पत्रिकामा समाचार फोटो सहित छापिनु पर्छ ।
राज्यको ढुकुटी राजनीतिकर्मीहरुको मनपरी गर्ने संयन्त्र बनेको छ तर ब्लड क्यान्सरबाट पीडित प्यूठानकी सञ्चारकर्मी बिन्दु परियार ओछ्यान परेकी छिन् । उनलाई उपचार गर्न न सरकार छ न हरियो डलरका खेतीबाला एनजीओहरु नै । २५ वषर्ीय बिन्दु परियारले सामुदायिक रेडियो माण्डवी ९७ मेगाहर्जमा समाचार लेख्ने र लोक मञ्जरी कार्यक्रम चलाउने गर्थिन् । उनको शरीरमा अब हाड सिवाय केही छैन । औषधि गर्न सम्पत्ति छैन । राष्ट्रिय पूाजिपति वर्गमा पर्ने विद्या भण्डारीलाई नै लागेको रोग उनलाई लागेको छ । तर विद्या र बिन्दु राज्यको लागि फरक फरक व्यक्ति हुन् । विद्याको आफ्नो सम्पत्ति खर्च सम्म नगरी औषधि गर्ने अधिकार छ तर बिन्दुको बााच्ने अधिकार राज्यले संरक्षण गर्दैन किनकि उनले राजनीति गरिनन् । उनले पत्रकारिता गरिन् । राजनीति भन्दा ठूलो व्यवसाय अरु केही नभएको मुलुकमा अरु व्यवसायीहरुको महत्व नै के रहन्छ र ?
प्यूठान जिल्ला विजुवार- १ टिकुरिकी पत्रकार बिन्दु परियारले मृत्यु शैयाबाट नै सबैसँग जीवनको याचना गरेकि छिन् । केही सहयोगका हातहरु बढेका समाचार आएका पनि छन् । प्रवासबाट दरो सहयोगको हातहरु अगाडि बढे उनले पनि विद्या भण्डारीले पाएको जस्तै जीवन पाउन सक्थिन कि ?