हरेक गीतका शव्दमा मायाप्रेमका कुरा जोडेर रचना गर्ने र गाउने कलाकारको नाम हो - रामकुमार राई । एक सय २५ भन्दा बढी गीत गाइसकेका उनले मायाप्रेम बाहेकका शब्द सायदै गीतमा उनेका होलान् । मायाप्रेम बिनाका शब्दहरूले मानिसको मन छुन नसक्ने भनाई राख्ने गरेका राईले आफ्नो गीतसंगीतको यात्रामा यही कुराको फरक विशेषता कमाएका छन् । सानै उमेरदेखि यस्तै गीतसंगीत मन पराउने उनी अल्लारे युवायुवतिहरूको अनुभवमा मायालु जोडीको कथालाई गीत बनाउाछन् र युवा युवतीकै व्यथालाई गीतमा उन्छन् । केही गाउापाखाका गीत बाहेक उनले गाएका सबैजसो गीतहरूले युवायुवतिको प्रेम सम्बन्धलाई जोडेको मान्न सकिन्छ ।
सानै उमेरमा आफ्ना दाजू भक्तबहादुर राईबाट गीत संगीत क्षेत्रमा प्रभावित भएका राईले वाल्यकालदेखि नै गीत गाउन सुरु गरेका हुन् । कतिसालमा पहिलो गीत गाए उनलाई पनि थाहा छैन । भन्छन्, 'जतिवेला म जान्ने बुझ्ने भए सायद त्यहीबेलाबाट गीत गाएँहोला ।' गीत गाएर मात्रै नेपालमा बाँच्न कठिन हुनेगरेको परिप्रेक्षले उनलाई पनि अछुतो राखेको छैन । पछिल्लो समयमा त अझ पाइरेसीको प्रभावले कलाकारले गाएका गीतलाई डुव्लीकेट बनाएर बेच्ने प्रबृति हाबी भएबाट निकै चिन्तित छन् उनी पनि । धेरै समय खर्चेर गीत बनाउनुपर्ने र उत्तिकै लगानी लगाउनुपर्ने तर आम्दानीको हिसाबबाट नोक्सान पनि भोग्नुपर्ने भएकोले नेपालमा गीत संगीतको व्यबसाय त्यति राम्रो हुन नसकेको राईको भनाई छ । 'पाइरेसीको समस्याले त झनै पिरोलेको छ' उनी भन्छन्, 'गीत गाएर क्यासेट बेचेकै भरमा त बााच्न निकै कठिन पो हुँदोरहेछ ।'
विभिन्न ठाउँमा आफ्नो स्वरले दर्शक र स्रोताको मन जित्न सफल राई पूर्वेली कलाकारको रुपमा पनि चिनिन्छन् । धेरै स्टेज कार्यक्रममा भाग लिएर उनले गीत गाएका छन् । त्यसै कारणले पनि आफू नेपालमा बााच्न सफल भएको उनको अनुभव छ । २०४०/०४१ सालतिरबाट स्टेज तताउन थालेका राईले साास्कृतिक कार्यक्रम मार्फत देशैभरी यात्रा गरे । उनीद्वारा गाइएको 'गाजलुले आाखै छोप्ने ए मेरी मायालु' बोलको गीतले धेरैको मन छोएको छ ।
मुता गाविस धनकुटामा बुबा अम्मरबहादुर राई र आमा मंगलीमाया राईको कोखबाट ३७ बर्ष अघि जन्मिएका राईले अहिलेसम्म धेरै स्रोताहरू कमाएका छन् । उनी भन्छन् 'त्यहीनै मेरो सम्पति भएको छ ।' गीती एल्वमहरू निरन्तर एकपछि अर्को गरी ६ वटा निकालीसकेका छन् उनले । 'कानैमा कुण्डल', 'जोगमुनी रेलैमा', 'लाग्छ नी झझल्को', 'रसैमा माया बस्यो'लगायतका एल्वमहरू बजारमा ल्याएपछि भर्खरै मात्र नयाँ एल्वमका लागि ७ वटा गीत तयार गरेका छन् राइले । प्रेमकहानी भित्र लुकेका दुःख, वेदना र गाउाघरमा घट्ने अथार्थ घटनालाई शब्दमा उनेर गीतमा स्वर दिने गरेका राईले अहिलेसम्म एक सय पच्चिस भन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
गायक राईले आफूले गाएका गीतबाट धेरैको माया पाएका छन् । त्यसोत यहाँसम्म आउन हौसला दिने आफ्नै स्कूल पनि एक हो भन्छन् उनी । किनकि उनले स्कूले जीवन मै रहदा पहिलो सम्मान पाएका थिए । लोक संस्कृति र राष्ट्रप्रति सम्मान गर्ने गायक राईले २०४५ सालमा जिल्लास्तरीय राष्ट्रिय गीत प्रतियोगितामा प्रथम पुरस्कार हात पारेका थिए । गायन क्षेत्रमा होमिएपछि राई स्कूले जीवन पार गरेर उच्च शिक्षाको अध्ययनका लागि काठमाडौं आए । काठमाडौंको आगमनसँगै उनी उच्च शिक्षाका लागि सरस्वती क्याम्पस काठमाडौंमा भर्ना भए ।
जहाँ गएपनि संस्कृति र गायनलाई पर सार्न नसक्ने राईले आफू अध्ययन गर्ने क्याम्पसमा स्टेज कार्यक्रमको आयोजना गरी गीत गाउन सुरु गरे । काठमाडौंको आगमनसँगै उनले 'नजाउ छाडेर एक्लो पारेर' बोलको गीत गाए । यसै बेलाबाट जनसाँस्कृतिक मञ्चमा रहेर सांस्कृतिक कार्यक्रहरूममा हिड्ने अवसर पनि पाए उनले । आइए सम्मको अध्ययन पुरा गरेका उनले दुई वर्ष ललितकला क्याम्पसमा संगीत विषयमा पनि अध्ययन गरे ।
धेरै समय स्टेज कार्यक्रममा गीत गाएपछि उनले २०४९ सालमा स्वर परीक्षा पास गरे । धेरै फुड्कर गीत गाएर चर्चामा आएका राईले २०५० सालमा 'रसैको माया' एल्वम बजारमा लिएर आए । माया र प्रेमका कथालाई लोकलयमा ढालेर गीत गाउने राईले पहिलो एल्वमबाट नै स्थापित हुने अवसर पाए । गाउँठाउँका शव्दहरू र भाकाहरूलाई खोजेर ल्याउने गरेका राईका भुल्के बजार हज्जारौ हजार.., फुलपाती ओइलियो..., त्यहीँ पारी दोभानमा... जस्ता गीतहरू चर्चामा छन् ।